प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको आयोगको ठहर


काठमाडौँ, ५ कात्तिक । नेत्रबिक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्ष निकालेको छ । आयोगले घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस गरेको छ । आयोगले पौडेललाई हत्या गर्न आदेश दिने उच्च प्रहरी अधिकारीमाथि पनि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले प्रहरीले दाबी गरेजस्तो दोहोरो भिडन्तमा वा आत्मरक्षाको स्थिति पुष्टि नभएको र घटनाको प्रकृति र सङ्कलित प्रमाणहरूका आधारमा पौडेललाई नियन्त्रणमा लिएर ९ राउन्ड गोली प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको हो । मानवअधिकार आयोगको सोमबार बसेको बैठकले छानबिन प्रतिवेदनका आधारमा प्रत्यक्ष घटनामा संलग्न प्रहरी कमान्डर प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हबल्दार श्रीविनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको छ । यस्तै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायबनिरीक्षक सूर्यकुमार कार्कीलाई मुचुल्का उठाउँदा त्रुटि गरेकाले सचेत गराउन सरकार र नेपाल प्रहरीलाई सिफारिस गरिएको छ । यस्तै प्रहरीलाई निर्देशन दिने तथा कर्मचारीलाई आदेश दिने अधिकारी तथा दु्रुत्साहन गर्ने व्यक्तिमाथिसमेत अनुसन्धान गरी कानुनी दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *