हल्लाको पछि नलाग्न अध्यक्ष प्रचण्डको आग्रह, पार्टीको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दावी


काठमाडौं, ५ कात्तिक । हल्लाको पछि लागेर भ्रममा नपर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आग्रह गरेका छन । मंगलबार पाँचथरमा पत्रकारसँग कुराकानी गर्दे प्रचण्डले हल्लाको पछि लागेर भ्रममा नपर्न पनि आग्रह गरेका हुन । आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको उनले स्पष्ट पारेका छन् । प्रचण्डले भने, ‘हिजो मात्रै प्रधानमन्त्री र म २ घण्टा बसेर समग्र स्थितिलाई अब कसरी लैजाने भनेर समीक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं । होहल्ला र प्रचारबाजीको भ्रममा कोही नपर्न अपिल गर्छु । अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम छिट्टै सकिने बताए । पार्टी एकता प्रक्रिया केही ढिलो भए पनि एकता प्रक्रियालाई अन्तिम रुप दिने बारेमा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो चरणमा गम्भीरताका साथ छलफल गरेको भन्दै अध्यक्ष प्रचण्डले अब चाडैँ टुँगो लाग्ने बताए ।उनले प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल पुनर्गठन हुने बताए । उनले भने, ’जतिबेला प्रधानमन्त्रीले चाहानुहुन्छ त्यतिबेला मन्त्रिमण्डल पुनर्गठन हुन्छ, जतिबेलासम्म चाहनुहुन्न त्यतिबेलासम्म हुँदैन । ’उनले शान्ति प्रकियाका बाँकी कामहरु टुंग्याउने अन्तिम निष्कर्षमा पुगेको बताए । उनले मिडियामा प्रचार गरिएजस्तो सम्बन्ध नबिग्रिएको बताए । पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन भइराखेको पनि उनले बताए । ‘पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन नभएको भए एकता यो विन्दुसम्म आउनै सक्दैनथ्यो,’ उनले भने, ‘मुलभुत रूपमा हामी सहमति कार्यान्वयनमै छौं । अरू सबै समझदारी महाधिवेशनसम्म जाँदा कार्यान्वयन भइसक्छन् ।’ एक अर्काे प्रसँगमा उनले मुलुकको पछिल्लो राजनीतिक परिवर्तन २००७ सालको जस्तो मात्रात्मक परिवर्तन मात्र नभएर गुणात्मक परिवर्तन पनि भएकोले यसलाई चुनौतीका बाबजुद सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको तर्क गरे । २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल भएको उल्लेख गर्दै सी को भ्रमणले देश विकासमा दीर्घकालीन महत्व राख्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । ’पछिल्लो समय ओली र प्रचण्डबीच आलोपालो सरकार चलाउने विषयमा दूरी बढेको आंशकासमेत भइरहेके छ । प्रचण्डले प्रतिपक्षी दल कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा ’हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ’ र ’कांग्रेससँग पहिले पनि भएको र फेरि पनि सहकार्य हुँदै जानेछ’ जस्ता अभिव्यक्तिले यस्तो आशंका उब्जाएका थिए । उनले यति मात्र नभएर पछिल्लो समय नेकपाभित्र ग्यास्ट्रिक बढेको, क्यान्सर नभै सके पनि अल्सर भएको समेत भनेका थिए । नेकपा पाँचथरले आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पाँचथर आएका अध्यक्ष प्रचण्डसँग पार्टीका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि सहभागी छन ।

यसमा तपाइको मत