सरकार पञ्चायतकालीन शैलीमा लागेको अध्यक्ष शर्माको आरोप

काठमाडौँ, ५ कात्तिक । सरकार पञ्चायतकालीन शैलीमा लागेको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आरोप लगाएका छन । जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजको मंगलबार विमोचन गर्दै अध्यक्ष शर्माले अहिले पनि पञ्चायतकालीन शैलीजस्तो अवस्था देखिएको टिप्पणी गरेका छन । मुलुकको मानवअधिकारको अवस्था खराब बनेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘हामीले व्यवस्था परिवर्तन त ग¥यौँ तर त्यसअनुसार आचरण भयो कि भएन भन्ने मुख्य विषय हो तर म आचरण पुरानै देख्छु ।’उनले गणतान्त्रिक व्यवस्थामा पनि मानवअधिकार सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले यो गणतन्त्र हो कि बन्दुकतन्त्र छुट्ट्याउन गाह्रो भएको टिप्पणीसमेत गरे । उनले भने, ‘म असन (काठमाडौँ) मा हुक्र्या–बढ्या मान्छे अनि एउटा जोक चल्छ गणतन्त्र कि गनतन्त्र ? गनतन्त्र भनेको बन्दुकले सबैलाई सिध्याउने भनेको हो कि ? गणतन्त्र अर्थात् महादेवका उत्ताउला गणहरूको तन्त्र हो कि ? गन भनेको नेवारीमा कता भन्ने हुन्छ अर्थात् कता गयोतन्त्र हो कि ?’ उनले विचार र आस्थाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न नहुनेमा जोड दिएका छन । नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले बृहत् शान्तिसम्झौता सही ढङ्गले निष्कर्षमा नपुग्दा अहिले राजनीतिक तरलता देखिएको टिप्पणी गरिन् । उनले भनिन, ‘सायद शान्तिप्रक्रिया सही ढङ्गले निष्कर्षमा पुगेको भए फेरि अहिलेको व्यवस्थामा प्रश्न उठ्ने थिएन कि ? विप्लवजी, किरणजीहरू अहिले किन बाहिर हुनुहुन्छ ?’ संसद् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले मानवअधिकारको अवस्था गम्भीर बन्दै गएको टिप्पणी गरे ।जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विप्लवले भनेको वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबीच किन बहस गर्न नपाउने भन्दै प्रश्न गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरे । साहित्यकार आहुतिले विचार र आस्थामाथिको प्रतिबन्धले समस्या समाधान नहुनेमा जोड दिए । उनले विचार र आस्थाकै आधारमा देशभर धरपकड गरिएको भन्दै संविधानमा लेखिएको मौलिक हक सुनिश्चित गर्न आग्रह गरे ।कार्यक्रममा नागरिक आन्दोलनका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारको कार्यशैली गम्भीर भएको बताए । उनले यत्रो लडेर ल्याएको गणतन्त्रमा ल्याउनेहरू नै पीडित बन्नु परेको टिप्पणी गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरूसमेत लडेर ल्याएको गणतन्त्रमै प्रेस स्वतन्त्रता कुण्ठित भएको भन्दै आश्चर्य व्यक्त गरे । उनले विचार र आस्थाकै आधारमा पत्रकार गिरफ्तार गर्नु आपत्तिजनक भएको बताए ।जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले देशभर विचार र आस्थाका आधारमा आफ्ना सङ्गठनका सदस्यहरूलाई गिरफ्तार गरिएको भन्दै आपत्ति जनाए । सामाचार लेखेकै आधारमा पक्राउ गर्ने र सर्वाेच्च अदालतको आदेशमा रिहा हुँदा पनि पटकपटक पक्राउ गर्ने गरिएको भन्दै उनले सबैको ध्यानाकर्षण गराए ।कार्यक्रममा प्रगतिशील कानुन व्यवसायी सङ्गठनका सचिव कपिलचन्द्र पोख्रेल, तक्मा केसी, अधिकारकर्मी डा. कपिल श्रेष्ठ, सरला रेग्मी, भवानी खरेल, शान्ता भण्डारीलगायतले आआफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *