
काठमाडौं, २ कात्तिक । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । कार्तिक ३ गते जुलुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र पिंढीसभा, कार्तिक ७ गते ओलीको पुत्ला दहन, कार्तिक ९ गते विरोध प्रदर्शन, कार्तिक १५ गते मसाल जुलुस र कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दरलाई गिरफ्तार गरेको थियो । त्यसैगरी रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको थियो । नेकपाका महासचिव विप्लवले दाङबाट केन्द्रीय सदस्य बीरजंगसहित २१ नेता कार्यकताको गिरफ्तारको कडा शव्दमा विरोध गर्दै तत्काल रिहाइ गर्न माग गरेका । विहीबार महासचिव विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट केपी वली सरकारले पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित सबै नेता कार्यकर्तालाई महासचिव विप्लवले तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी पनि दिएका छन् । महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद—साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताहरू यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ । यसका लागि हामी तयार हुँदैनथ्यौँ भने माओवादी पार्टीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन । हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन । जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ ।’
यसैगरी, मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जनालाई अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको छ । वीरजङ्ग सहित गिरफ्तार गरिएकासबैलाई जिल्ला अदालत घोराहीमा उपस्थित गराई प्रारम्भिकरुपमा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष प्रदिप गौतमले जानकारी दिएकाछन् । गिरफ्तार २१ लाई नै हातहतियार खरखजना तथा विस्पोटक पदार्थ सम्बन्धि मुद्दा लगाइएको छ ।