काठमाण्डौ, ३० असोज । वुमन्स च्याम्पियन्स लिगमा क्याट क्वीन्ससँग पोखरा पल्टन पराजित भएको छ । क्याट क्वीन्स काठमाण्डौले बिहीबार पोखरा पल्टनलाई ८२ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्याट क्वीन्सले कप्तान रुवीना क्षेत्रीको अर्धशतकमा २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । बलियो लक्ष्य दिने क्रममा उसका लागि कप्तान रुवीनाले फ्रेन्चाइजी लिगमा पहिलो अर्धशतक बनाइन् । जसमा उनले ६७ बलमा १४ चौका र दुई छक्काको मद्दतमा ८३ रन बनाइन् ।यस्तै रोमा थापाले १९ तथा इश्वरी विष्टले १० रन जोडिन् । यस्तै शोभा आलेले १२ रन थपिन् ।बलिङतर्फ पोखराका लागि अनुराधा चौधरीले चार विकेट लिइन् ।जवाफमा पोखरा १६ ओभर एक बलमा मात्र ७० रनमा अलआउट भयो । सुरुवात राम्रो गरे पनि उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् । ३१ रनमा पहिलो विकेट गुमाएको पोखराले ५६ रन बनाउँदा आठ विकेट खेर फालेको थियो ।उसका लागि कप्तान सिता रानामगरले १७ तथा विन्दु रावलले १० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका पाँच खेलाडी रनआउट भएका थिए । प्रतियोगितामा क्याट क्वीन्सले दुई खेलमा दुई अंक बनाएको छ । प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले हारेको क्याट क्वीन्सको यो पहिलो जित हो ।