विप्लवका दाइ ‘वीरजंग’ र राप्तीका पाँचै जिल्ला इन्चार्जसहित २१ जना नेता मध्यरातमा पक्राउ

काठमाडौँ, ३० असोज । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता तथा कार्यकर्ता मध्यरातमा पक्राउ परेका छन । पार्टीको राप्ती ब्युरोको बैठक बसिरहेको बेला दाङको राजपुरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा चन्द्रबहादुर चन्द (वीरजंग) – केन्द्रीय सदस्य, लुम्बिनी ब्यूरो र मध्यपश्चिम कमाण्ड ईन्चार्ज, केशवबहादुर बाँठा मगर (सुवास) – राप्ती ब्युरो ईन्चार्ज, रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो, न्याय विभाग समिति जिल्ला संयोजक, सविन पोख्रेल – राप्ती ब्यूरो कार्यालय सचिव, यमलाल कटुवाल(विक्रम)( दाङ जिल्ला ईन्चार्ज, प्रदीप वली – दाङ जिल्ला सेक्रेटरी, बविन केसी (जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष, सुनिल पौडेल– बुद्धिजिवी, एकराज चौधरी( एरिया नम्बर ४ ईन्चार्ज, जिल्ला जनपरिषद् सदस्य, धनबहादुर बोहोरा (महान)( एरिया नम्बर १ ईन्चार्ज, राजपुर गाँउपालिका सेक्रेटरी, तिलक पुन( पूर्व जनमुक्ति सेना), सुरज विक( दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष, हितप्रसाद रोका( पार्टी सदस्य, पोष्टमान घर्ती( रोल्पा जिल्ला सदस्य, दलबहादुर खत्री, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, बिष्णु थापा र कुलबहादुर ओली रहेका छन । प्रहरीले नेकपा राप्ती ब्युरोको बैठक स्थलमै हस्तक्षेप गरी पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुभास’ सहित कैयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको हो । विप्लवका दाइ चन्द्रबहादुर ’वीरजंग’ पक्राउ परेका प्रमुख नेता हुन् । उनी पार्टीका केन्द्रीय सदस्य र पश्चिम कमाण्ड, लुम्बिनी ब्यूरो इन्चार्ज हुन् । अरू थुप्रै नेता र कार्यकर्ताहरु प्रहरीले घेरा हालेको ठाउँभन्दा छुट्टै घरमा बसेकाले भाग्न सफल भएको स्रोतको दाबी छ । उनीहरूलाई दाङ जिल्लाको नेपाल–भारत सिमामा पर्ने राप्ती गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको हो । दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले त्यहाँ तीन दिनदेखि केन्द्रीय सदस्यसहितको उपस्थितिमा राप्ती व्यूरोको बैठक बसिरहेको थाहा पाएपछि प्रहरीले घेरावन्दी हालेर पक्राउ गरेको बताए । पक्राउ पर्दा विप्लवका कार्यकर्ताहरू राप्ती गाउँपालिका वडा नं. ४ स्थित ज्ञानेन्द्र वलीको घरवाट बैठक बसिरहेका थिए। वलीको परिवार घरमा बस्दैन । उनको घर रित्तै थियो । त्यही रित्तो घरमा विगत तीन दिनदेखि विप्लवका नेता कार्यकर्ताको बैठक बसिरहेको थाहा पाएर गोप्य सूचनाको आधारमा मध्यरातमा घेराहालेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बैठक स्थलमै छापा मारेर नेता कार्यकर्ता पक्राउ गरेको हुँदा हातहतियार, विष्फोटक पदार्थ तथा महत्वपूर्ण सूचना बरामद भएको प्रहरीको दावी छ । दश वर्षे माओवादी युद्धको समयमा दाङलाई तात्कालिन माओवादीले मुख्य रुपमा उपयोग गरेको थियो । माओवादीका सबैजसो ठूला नेताहरु दाङ उपत्यकामा नै बस्ने गरेका थिए । दाङ र भारतका बीचमा झन्डै ३८ किलोमिटर जंगल जोडिएको खुल्ला सीमा छ । यही जंगलको बाटो प्रयोग गरेर माओवादीहरुले ‘जनयुद्द’ कालमा पनि सहज रुपमा हातहतियार र विष्फोटक पदार्थ भित्र्याउने गरेका थिए । विप्लवले पनि आफ्नो पार्टीको गठन दाङमै गरेका थिए । तुलसीपुर बजारमा रहेको एक सिनेमा हलमा दुई दिन सम्म भेला गरेर विप्लवले नयाँ पार्टी गठन गर्दै आफुलाई महासचिव घोषणा गरेका थिए ।रोल्पामा जन्मिएका विप्लव हाल बसाई सरेर कपिलबस्तुमा बस्दै आएका छन्। तर अहिले पनि उनी अधिकांश समय दाङ र रोल्पाकै सेरोफेरोमा बस्दै आएको प्रहरीले दाबी गर्दै आएको छ । पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएकोछ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा भएको बहसपछि अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले उनलाई अदालतको गेटबाटै गिरफ्तार गरेको छ ।बन्दी श्रेष्ठका तर्फबाट अधिवक्ता कान्ति ढुंगानाले बहस गरेका थिए । अदालतले रिहा गरेलगत्तै महानगरीय प्रहरीवृत्त सिहंदरबारले श्रेष्ठलाई गिरफ्तार गरी बमविस्फोटको मुद्दा लगाएको छ ।ओखलढुंगा घर भएका श्रेष्ठलाई चैत १० गते प्रहरीले मोरङको कानेपोखरीबाट गिरफ्तार गरेको थियो । त्यसपछि उनलाई अदालतले पटकपटक रिहा गर्न आदेश दिए पनि प्रहरीले गिरफ्तार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *