राजतन्त्र फर्कने सम्भावना नभएको डा.भट्टराईको दावी


गोरखा, ३० असोज । राजतन्त्र फर्कने सम्भावना नरहेको समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दावी गरेका छन । पार्टीको आयोजनामा बिहीवार गोरखाको सदरमुकाममा भएको चाडवाड लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उनले राजतन्त्र फर्कने सम्भावना नरहेको बताए ।‘राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएका हौ,’ उनले भने, ‘राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुपर्दै, कुनै हालतमा आउँदैन, आउन पनि हुँदैन ।’ जातिय र वंशिय आधारमा देश चलाउने दिन समाप्त भएको तर्क गर्दै उनले लोकतान्त्रिक गणतन्त्र पश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको र एजेण्डा समेत फेरिएको बताए । डा. भट्टराईले पद चाहिएको होभने पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । ‘पूर्वराजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन,’ उनले भने । दशैंमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत भएको उनको भनाइ छ । ‘चाडवाडको समयमा पूर्वराजासँग केही ब्यक्तीले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत हो, राष्ट्रपतिसँग पनि लगाउँछन, प्रधानमन्त्री सँग पनि लगाउँछन् त्यो ठूलो कुरा होइन, हामी अव गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं,’ उनले भने । गणतन्त्रलाई टेकेर समृद्ध नेपाल बनाउने एजेण्डामा अघि बढ्न उनले सबैलाई आग्रह समेत गरेका छन ।
यसैगरी, डा भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पु¥याएको बताएका छन । उनले गोरखा सदरमुकाममा बिहीबार आयोजित पत्रकार भेटघाटमा भने, “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।” नेपालले दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ भन्ने मान्यता राख्छौँ र राष्ट्रपति सीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।” अर्को फरक प्रसङ्गमा डा भटृराईले लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताए । सांसद विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको उनको भनाइ थियो । “साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारवाही हुन्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो भएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *