तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो शुक्रबारदेखि


चितवन, २८ असोज (रासस) । पूर्वी चितवनको रत्ननगरमा तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो, सरित सौराहा, न्यूस्टार, सौराहा, पिठूवा र इच्छाकामना डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सो प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता मूल संयोजक पुष्पराज जोशीले जानकारी दिनुभयो । पुम्सेतर्फ पुरुषको चार र महिलाको चार गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ । देशभरबाट ४०० खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १०८ कास्य गरी २१६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर पुरुषतर्फ छ र सिनियर महिलातर्फ चार तौल समूहमा प्रथम हुने खेलाडीबीच पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन जना पुरुष र दुई जना महिला खेलाडीलाई जनही रु एक÷एक लाख पुरस्कारको व्यवस्था गरिएको जोशीले जानकारी दिनुभयो । यस्तै अन्य उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट समूह र उत्कृष्ट तेक्वान्दो प्रदर्शनीलाई नगद रु २५÷२५ हजार पुरस्कार प्रदान गरिने छ । विजेता खेलाडी अमेरिकाको इस्टन मिसिगन विश्वद्यिालयमा सन २०२० को मे १ र २ मा हुने १३ औँ अन्तर्रा्ष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *