राष्ट्रपति भण्डारी र अर्थमन्त्री डा. खतिवडाद्वारा एनआरएनहरुलाई जलविद्युत, पर्यटन र खानी उद्योगमा लगानी गर्न आग्रह

काठमाडौं, २८ असोज । गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न राष्ट्रपति विद्या भण्डारी र अर्थमन्त्री डा.युवराज खतिवडाले आह्वान गरेका छन् । मंगलबारबाट काठमाडांैमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामूहिक लगानी समग्र नेपाल निर्माण गर्ने महाअभियान लगाउन सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गरेकी हुन् । गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न सहज एवम् अनुकूल वातावरण बन्न गएको राष्ट्रपति भण्डारीले बताईन । ‘नेपाल सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रमहरु ‘समृद्ध नेपालः सुःखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित छ,’। ‘नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल आन्तरिक तथा बाह्य वातावरणमा विश्वका विभिन्न मुलुकबाट हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत् नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैरआवासीय नेपालीहरुलाई हार्दिक आह्वान गर्दछु ।’ उनले गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको पनि स्मरण गराए । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान, सीप र प्रविधिको उपयोग गर्न आग्रह गरे । उनले गैरआवासीय नेपालीहरुको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिट्टै ‘गैर आवासीय नेपाली परिचयपत्र’ वितरण गर्ने पनि जानकारी दिए ।
यसैगरी, अर्थमन्त्री डा.युवराज खतिवडाले गैरआवासीय नेपालीलाई जलविद्युत, पर्यटनका क्षेत्रहरु तथा खानीजन्य उद्योगहरुमा लगानी गर्न आग्रह गरेका छन् । उनले अहिलेसम्म नेपालका लागि व्यक्तिगत रुपमा, संस्थागत रुपमा गैरआवासीय नेपालीले गरेको कामको प्रशंसा गर्दै मुलुक स्थिरतातर्फ गएकोले थप लगानी गर्न आग्रह गरे । मन्त्री खतिवडाले उर्जाका स्रोतहरुको उपयोगलाई अघि बढाउन गैरआवासीय नेपालीलाई हाइड्रोपावरमा लगानी गर्न जोड दिए । मन्त्री खतिवडाले भने, ‘अहिले ३ हजार मेगावटा क्षमताका जलविद्युत आयोजनाहरुको निर्माण भइरहेको छ । १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको छ । १० हजार मेगावाटका कम्तिमा लागि २० खर्ब लगानी आवश्यक छ । त्यसमा लगानीका लागि गैरआवासीय नेपालीको पनि ठूलो भूमिका हुन्छ ।’उनले सरकारले प्राकृतिक खानी क्षेत्र खुला गर्ने बताउँदै फलाम खानी, पेट्रोलियम पदार्थको खानीको लगानीका लागि सरकारले आह्वान गर्ने बताए । उनले ती क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई लगानीको लागि स्थान दिने बताए । उलने प्राकृतिक स्रोतको प्रयोग गर्दै वाताबरणप्रति अनुशासित भएर लगानी गर्न आग्रह गरे । उनले नेपालमा लगानी गर्नेहरुका लागि कामदारको समस्या नरहेको बताए । उनले भने, ‘विदेशबाट लगानीका लागि आउनेका लागि यहाँ अझै श्रमिक जनशक्तिहरु छन् । सामाजिक सुरक्षा कार्यक्रम ल्याएपछि २ बर्षदेखि श्रमिक हडताल भएको छैन । तपाईहरुले ढुक्क भएर श्रमिक प्रयोग गर्न सक्नुहुन्छ ।’ उनले धितोपत्र बोर्डमा एनआरएनलाई लगानी गर्न दिने भनेकोमा त्यसमा परेको समस्या हल गर्न सरकार तयार रहेको बताए । उनले विश्वमा काम गरेको अनुभव प्रयोग गरेर ठूला किसिमका उद्योगहरु खोल्न आग्रह गर्दै सरकार आफै र नीजि क्षेत्र आफैले मात्र काम गर्न समस्या भएकोले सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्ने ऐन ल्याएको छ र छिट्टै नियमावली बनाउदै गरेको उल्लेख गरे । सरकारले अब सबै प्रकारका स्रोतहरुलाई एकैठाउँमा राखेर ठूलो फन्ड बनाउँदै ठूला आयोजनाहरुमा लगानी गर्न वातावरण बनाउन लागेको बताए । उनले भने, ‘पूर्वाधाार क्षेत्र, खानीजन्य क्षेत्र, कृषिजन्य क्षेत्र, शिक्षा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुस । शिक्षा स्वास्थ्यमा गरेको लगानी राम्रो भएको छ । सन् २०२० मा २० लाख पर्यटक ल्याउने योजना छ । सन् ४० मा ४० लाख पर्यटक आँउदा थप ९० हजार होटल बेड बनाउँने हो भने ४ खर्ब लगाउनुपर्छ । केबलकार ब्यापार फाइदाजनक छ । त्यसमा लगानी संभावनायुक्त छ ।’ मन्त्री खतिवडाले बनको जग्गा प्राप्तीलाई सरकारले खुकिलो बनाइएको बताउँदै लगानी र औद्योगिक सुरक्षाका लागि डेडिकेटेट र्फोस राख्ने योजना पनि बनाएको पनि उल्लेख गरे । विदेशी लगानीका लागि नाफा फिर्ता लैजान सक्ने जस्ता विषयलाई अघि बढाउन लागेको भन्दै शहरी क्षेत्रको मनोरञ्जन क्षेत्रमा पनि लगानीको सम्भावना रहेको बताए । २५ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी रहेको तीन दिने सो विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *