बिभिन्न अभियोगमा ३ जना सांसद पक्राउ, महरा र आलमलाई म्याद थप

काठमाडौं, २८ असोज । पछिल्लो दुई सातामा प्रहरीले तीन जना सांसदलाई पक्राउ गरेको छ । प्रहरीले निवर्तमान सभामुख कृष्ण बहादुर महरा, नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद प्रमोद कुमार साहलाई पक्राउ गरेको हो । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो । महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन । बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलवार जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । नर्भिक अस्पतालबाट महरालाई सीधै सरकारी वकिल कार्यालय लगिएको थियो । करिब पौने २ घण्टा सरकारी वकिल कार्यालयमा महराको बयान लिइएको थियो । सरकारी वकिलसँग भएको बयानमा महराले आफूले पीडित महिलालाई चिनेको स्वीकार गरेका छन् । स्वास्थ्यमा समस्यादेखिएर नर्भिक अस्पतालमा भर्ना भएका महरालाई नर्भिक अस्पतालबाट नै सरकारी वकिल कार्यालय लगिएको थियो । पुनः महरालाई अस्पताल लगिएको छ ।
यस्तै, रौतहटमा भएको एक बम काण्डको अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलमलाई अदालतले अनुसन्धानको लागि थप हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई मंगलवार बिहान रौतहट जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले प्रहरीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि सात दिनको म्याद दिएको छ । ’आज नै अदालतमा उपस्थित गराएर सात दिनको म्याद पनि पाइसकेका छौं । हामी थप अनुसन्धान गर्छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले भने । २०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लगाइँदै आएको छ । पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन । सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो । आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत हुन् ।
यसैगरी,राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद प्रमोद कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साहले सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेको उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउको लागि अनुमति मागेको थियो । अदालतको अनुमतिपछि धनुषा प्रहरीले काठमाडौंमा रहेका साहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । साहलाई काठमाडौंबाट ओखलढुंगा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वा्चित साहले सोमवार बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए । प्रशासनको लापर्बाहीका कारण आफू आक्रोशित भएको सांसद साहले स्वीकार गरेका छन । विमानस्थलभित्र रहेको बुद्ध एयरको काउन्टरको सिसा फुटेको विमानस्थलले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *