भारत र चीन सँगसँगै नेपाल पनि अगाडि बढ्ने


काठमाडौं, २८ असोज । विश्वमै धेरै जनसङ्ख्या रहेको भारत र चीन पुराना कुरा बिर्सेर आपसी सम्बन्धलाई सुमधुर बनाउँदैछन् । नेपाल पनि सँगसँगै अगाडि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एशिया अब कटुताको होइन, पारस्परिक एकता, मानवहित र समृद्धिको बाटोमा अघि बढ्न चाहान्छ । पूर्वीय सभ्यता र संस्कृति उत्कृष्ट र लोभलाग्दो भएको उल्लेख गर्दै उनले यसका राम्रा पक्षहरुको संरक्षण गर्दै जान आग्रह गरेका छन । प्रधानमन्त्री ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाए ।उनले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराएका छन ।उनले विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँपुस्ताले बिर्संदै गएको बताए । विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति उनको असन्तुष्टि छ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको र राष्ट्रपति सीले नेपाल आउनुअघि भारतको भ्रमण गर्नुभएकाले एशियाका देशहरु कस्तो नयाँ चरणको सम्बन्धको विकास गरिरहेका छन् भन्ने सन्देश दिएको उल्लेख गरे । राष्ट्रपति सीले यही असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरेका थिए । जारी सम्मेलनका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपालका लागि बङ्गलादेश र पाकिस्तानका राजदूत, संस्कृतिविद् सत्यमोहन जोशीलगायतले सम्मेलन सफलताको कामना गरे । सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता छन । सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एशियाली संस्कृतिको प्रवद्र्धन गर्ने सम्मेलनले सघाउने बताए । सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिकस्थलको भ्रमण गराइनेछ । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *