सिंगापुरविरुद्ध नेपालको सानदार जित


काठमाडौं, १२ असोज । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा शनिबार भएको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै नेपालले सिरिजमा पहिलो जित हात पारेको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाललाई जिम्बावेले ५ विकेटले हराएको थियो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा कप्तान पारस खड्काले नटआउट १०६ रन हिर्काए । पारसले ५२ बलमा ७ चौका र ९ छक्का हिर्काए । पारसको यो टी(२० मा पहिलो र समग्रमा पाँचौ अन्तर्राष्ट्रिय शतक हो । पारससँगै आरिफ शेखले पनि ३८ बलमा नटआउट ३९ रन जोडे । त्यसअघि इशान पाण्डे ५ रनमा आउट भएका थिए।त्यसअघि सिंगापुरले २० ओभरमा ३ विकेटको क्षतिमा १५२ रन जोड्यो । उसका लागि टिम डेभिडले नटआउट ६४ रन जोडे । बलिङमा नेपालका करण केसीले २ विकेट लिए । डेब्यू खेलाडी सुसन भारीले १ विकेट हात पारे । सिरिजमा नेपालले मंगलबार जिम्बावेसँग खेल्नेछ ।
यसैगरी, त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज अन्तर्गत सिंगापुरविरुद्धको खेलमा शतक प्रहार गरेका नेपालका कप्तान पारस खड्काको यतिबेला चौतर्फी चर्चा भैरहेको छ । क्रिकेट समर्थकमात्र नभइ क्रिकेट बाहिरका व्यक्तिहरुले पनि पारसलाई बधाइ दिइरहेका छन् । साथै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले पनि पारसका बारमा निकै सकारात्मक समाचारहरु प्रकाशित गरेका छन् । भारतको चर्चित पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले पनि पारसलाई राम्रो स्थान दिएको छ । टी–२० क्रिकेटमा शतक प्रहार गर्ने कप्तानको सूचीमा परेको भन्दै पारसलाई भारतका कप्तान विराट कोहली र अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथसँग तुलना गरिएको छ । त्यो पत्रिकाले पारस नेपालका लागि टी–२० मा शतक हान्ने पहिलो कप्तान मात्र नभइ लक्ष्य पछ्याउँदा शतक हान्ने पहिलो कप्तान भएको पनि बताएको छ । ४९ बलमा शतक बनाएका पारसले ५२ बलमा अविजित एक सय ६ रन बनाए । यसअघि टी–२० मा पारसको सर्वा्धिक स्कोर मलेसियाविरुद्ध अविजित ८६ रन । यो स्कोर नेपाली खेलाडीले टी–२० मा बनाएको व्यक्तिगत उच्च स्कोरसमेत थियो । नेपाली टोलीका कप्तान पारस खड्का लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान बनेका छन् । यसअघि नेदरल्याण्ड्स का पिटर सीलरले स्कटल्याण्डविरुद्ध बनाएको ९६ रन नै लक्ष्य पछ्याउँदाको उच्च स्कोर थियो । इंग्ल्याण्डविरुद्ध स्टिभ स्मिथले बनाएको ९० रनलाई पनि पारसले उछिनेका छन्, जुन कप्तानका रुपमा उनको तेस्रो ठूलो स्कोर थियो । यस्तै वेस्ट इण्डिजका क्रिश गेलले अष्ट्रेलियाविरुद्ध बनाएको ८८ रन कप्तानका रुपमा तेस्रो उच्च रन थियो । यो सूचीमा भारतीय कप्तान विराट कोहली आठौँ स्थानमा छन् । उनले कप्तानका रुपमा लक्ष्य पछ्याउँदा ८२ रन बनाएका थिए । नेपालको सिनियर टिममा एक दिवसीय र टी–२० मा शतक प्रहार गर्ने खेलाडी मात्र नभइ पहिलो कप्तान पारसले सिंगापुरविरुद्ध नेपाललाई जिताउँदा विभिन्न रेकर्ड बनाएका छन् । उत्कृष्ट खेल प्रदर्शन गरेर विभिन्न कीर्तिमानसहित नेपाललाई सानदार जित दिलाएका कप्तान पारस खड्काको आईसीसी क्रिकेट, इण्डिया टुडे, इण्डियन एक्सप्रेस, द नेशनल लगायतले पनि प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *