मेरो नेपाल कप फुटबल प्रतियोगिता कात्तिक ३ देखि


कास्की, १२ असोज (रासस) । पोखरामा आगामी कात्तिक पहिलो हप्तादेखि पाँचौँ संस्करणको मेरो नेपाल कप खुला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । देशलाई चाहिने राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेरो नेपाल युवा क्लब पोखरा–१४ को आयोजनामा हुने प्रतियोगिता कात्तिक ३ देखि ८ गतेसम्म सञ्चालन हुने प्रचारप्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिए । यसअघि असोज १० गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरे पनि प्राविधिक कारणले पछि सार्नुपरेको क्लबको भनाइ छ । प्रतियोगितामा पहिलो हुने टिमले रु एक लाख ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टिमले रु ७५ हजार ५५५ ट्रफी, मेडल प्रमाणपत्र बताइन्छ । सेमिफाइनलमा प्रवेश गरेका दुई टिमले रु १० हजारको पुरस्कार पाउनेछन् भने अनुशासित टिमले रु सात हजार तथा प्रमाणपत्र पाउने कुँवरले जानकारी दिनुभयो । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले रु सात हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वा्धिक गोलकर्ताले जनही रु पाँच हजार र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा ४० टिम सहभागी हुने बताइन्छ । प्रतियोगिताबाट बचत भएको रकमले सामुदायिक व्यायामशाला निर्माण गर्ने योजना अघि सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *