दशैँ घरमा विधिपूर्वक जमरा राखियो


काठमाडौं, १२ असोज । काठमाडौंको हनुमानढोकास्थित दशैं घर र गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आईतबार विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएको मन्दिरका मूल पुजारी लीलाबहादुर बोहोराले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए । कालिका भगवती मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए । यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हँुदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको थपना गरी देवीको सवारी गराइएको उनले बताए । जमरा राख्नुअघि मूल दरबारमा नै पानी घडी थपना गर्नुपर्ने प्रचलन रहेको भए पनि दरबार जीर्णोद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी थपना गरी घटस्थापना गरिएको उनले बताए । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलि दिने प्रचलन रहँदै आएको छ । यसपटक दशैँ अवधिभरिसम्म यो ३२ बोका, १२ भेडा, पाँच सुँगुर, एक सतारसहित १५ वटा राँगो र नौ कुखुरा बलि दिने उनले बताए । यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा १४० भँेडाबोका र एक सतारसहित ८४ वटा राँगा बलि दिने प्रचलन रहँदै आएको थियो । राजसंस्थाको अन्त्य भएसँगै गोरखा दरबार हेरचाह अड्डामा दशैँ पूजाका लागि आवश्यक बजेटमा कटौती हुँदै आएकाले पशुपन्छीको बलिसमेत घटाइएको उनले जानकारी दिए । यस वर्ष बडादशैँमा पूजाआजाका लागि पुरानै ठेकेदारलाई बलि दिने पशुपन्छीको व्यवस्था गर्न आग्रह गरेअनुसार आवश्यक पशुपन्छीको व्यवस्था गरिएको उनले बताए । यस्तै घटस्थापनाका बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिए । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए । परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजा गरी जमरा राखिएको मूल पुजारी थापाले जानकारी दिए । गणेश र कलश स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको उनले बताए ।
यस्तै, विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ । घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ । पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ । घटस्थापनाका दिन घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको घटस्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । घटस्थापनाका दिन सवेरै स्नान गरी खोला तथा नदीको बगरबाट बालुवा ल्याएर पूजा कोठामा राखिन्छ र त्यसमा त्यसमा मकै, जौ रोपिन्छ जसलाई जमरा भनिन्छ । जमरा वरपर उज्यालो र सूर्यको प्रकाश छेकेर अँध्यारो बनाइन्छ । देवी भगवतीलाई सबैभन्दा बढी मन पर्ने वनस्पति जमरा भएकाले उनलाई खुशी पार्न जमरा राखेर पूजा आराधनापछि दशमीका दिन मान्यजनका हातबाट आशीर्वादसहित देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *