लुम्बिनी इञ्चार्जसहित ३ जना पक्राउ


काठमाडौँ, ११ असोज । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको भातृसस्था अखिल क्रान्तिकारीका ३ जना विद्यार्थी नेतालाई प्रहरीले नवलपरासीको सुनवलबाट पक्राउ गरेको छ । उनीहरुलाई सुनवलको रमवापुरबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्व्विद्यार्थी संयोजक नयनसिंह खड्का ‘नवीन’ पक्राउ परेका हुन् । शारदा भण्डारीलाई प्रहरीले यसअघि पनि पक्राउ गरेको थियो । उनी अदालतको आदेशमा रिहा भएकी थिइन् । पहिलो पटक नवलपरासीबाट ४० हजार धरौटी तिरेर रिहा भए पनि प्रहरीले भण्डारीलाई पुनः पक्राउ गरेको थियो । त्यसपछि सर्वोच्चको आदेशमा ७१ दिनपछि भण्डारी रिहा भएकी थिइन् ।
यसैगरी, नेकपा बाजुराले पार्टीका आठ जना जिल्ला नेताहरुको गिरफ्तारी र उनीहरुमाथिको गैरराजनीतिक व्यवहारप्रति पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ । जिल्ला इन्चार्ज विनोदले विज्ञप्ति जारी गरी राज्यपक्षबाट दिइएको धाकधम्की र आतङ्कजन्य व्यवहारप्रति भत्र्सना पनि गरेका छन् । विज्ञप्तिमा भनिएको छ, वैज्ञानिक समाजवादको आदर्शप्रति समर्पित बाजुरा जिल्ला समीति सदस्य क.साइमल सार्की, क.प्रेम रावत, क.प्रदीपविक, क.शैलेन्द्र नेपाली, क.दयाराम नेपाली, क.धर्म साउदलगायत आठ जना कमरेडलाई राज्यद्वारा गरिएको गैरन्यायिक गिरफ्तारीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *