सरकारले एकदलीय अधिनायकवाद लाद्न खोजेको देउवाको आरोप, कम्युनिष्ट सरकार ढल्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन

काठमाडौं, ११ असोज । केपी ओली नेतृत्वको सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन । दशैंको अवसरमा पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैहृय नहुने उनले चेतावनी दिए । सभापति देउवाले
केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा असफल सरकार भएको दावी गरेका छन् । दशैं खर्चसमेत धान्न नसकिने गरी सरकारले महँगी बढाएको उनले बताए । देउवाले भने, ‘ओली सरकार नेपालमा सबैभन्दा असफल सावित भएको छ, धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन, यति महंगी सरकारले बढाएको छ कि जनताले दशैं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ यस्तै कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाली कांग्रेसलाई निर्वाचनमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भएपनि अन्तरघातका कारण हार्नु परेको दावी गर्दै सभापति देउवाले आगामी निर्वाचनमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन सिंगो पार्टी पंक्तिले प्रतिज्ञा गर्नुपर्ने पनि बताए ।
यसैगरी, नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताए । काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले चाडपर्वको बेला महङ्गी ह्वात्तै बढेको बताए । “दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन”–उनले भने । जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको उनको भनाइ थियो । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गरे । “सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन”, नेता सिंहले भने । नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
यस्तै, नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई ‘कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी’ भनेर टिप्पणी गरेका छन् । उनले नेकपा सरकारविरुद्ध लड्न तयारी गर्नुपर्ने पनि बताएका छन् । काठमाडौंमा शनिबार आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले भने, ‘मार्कस् भन्यो, माओ भन्यो, लेनिन भन्यो, अहिले चीनको कम्युनिष्ट पार्टीको विचार हामी नेपालमा लिएर आउँछौं भनेर भन्दैछन् । जुन कुरा चीनले आफूले दिन्छु भन्दैन, त्यो पनि हामीलाई बेच्छु भन्दैछ । नेपाल कम्युनिष्ट पार्टी भनेको कपाल नभएको मान्छेलाई काइँयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो ।’ नेकपाले नेपाललाई कम्बोडिया जस्तो बनाउन चाहेको आरोप पनि उनले लगाए । कम्बोडियाको राजनीतिक अवस्थासँग हालको नेपालको अवस्थालाई तुलना गर्दै थापाले भने, ‘त्यहाँ अदालत छ, तर सरकारले चाहेको भन्दा फरक निर्णय गर्दैन । जसरी हाम्रो अदालतलाई यहाँको सरकारले दुई तिहाइको तरबार देखाएर तर्साइरहेको छ । त्यहाँ प्रेस छ, तर सरकारले चाहेको भन्दा फरक कुरा लेख्दैन । नेपाललाई त्यही बनाउन खोजिएको आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *