नेताले बाटो बिराएभने खबरदारी गर्न आह्वान


काठमाडौँ, ११ असोज । नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले आह्वान गरेका छन । दशैँतिहार, नेपाल संवत, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न आह्वान गरेका हुन । उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताए । उपप्रधानमन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताए । “जनप्रतिनिधि जनताले बनाएका हुन”, रक्षामन्त्री पोखरेलले भने, “म यसप्रति गम्भीर छु । तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सीधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहल कदमी लिन्छु । यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् सबै नेपालीले मान्ने संवत् भएको जिकिर गर्दै विक्रम संवत्का स्थानमा नेपाल संवत् लागू गर्नुपर्ने धारणा राखे । काठमाडौं निर्वाचन क्षेत्र नं ५ (१) का प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीबाहेक जनताका अरु कुनै पनि कामका लागि आफू तयार रहेको बताए । उनले विकासका लागि प्रदेशका तर्फबाट बजेट र स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाए । सांसद सिलवालले हालसम्म प्रदेशका तर्फबाट भए÷गरेका विकासका कामबारे विवरण प्रस्तुत गरे । टुकुचा खोलाबाट वर्षेनी आइपर्ने समस्या स्थानीयवासीकै कारण उब्जिएको उनको भनाइ थियो । “टुकुचाले हामीलाई दुःख दिएको होइन । हामीले टुकुचालाई दुःख दिएका थियौंँ र अहिले हामीले दुःख पाएका हौंँ तर यो समाधान गर्नै नसकिने विषय होइन, हामी समाधानका लागि पहल गर्छौंँ,” उनले भने । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रदेशसभा सदस्य सीता अधिकारीले सरकारले डेढ वर्षमा थुप्रै कानुन बनाएको र विकासका कामलाई पनि अघि बढाएको विचार राखे । कामपा–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले अतिक्रमित सार्वजनिक जग्गा वडा मातहत ल्याएर त्यहाँ सरकारी भवन र संरचना निर्माण गर्ने अभियानलाई तीव्रता दिइने बताए । “आजको कार्यक्रम पनि हालैमात्र वडामातहत ल्याइएको सार्वजनिक जग्गामा गरिरहेका छौंँ”, उनले भने, “यो एउटा सन्देश पनि हो, आगामी दिनमा हामी सरकारी जग्गा संरक्षणमा विशेषरुपमा लाग्ने छौंँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *