पुनः परीक्षाफलबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन


काठमाडौँ, ११ असोज । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षाफल पुनः प्रकाशित गरेको छ । पुनः प्रकाशित नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै शनिबार पुनः परीक्षाफल प्रकाशित गरेको हो । विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए । विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जाएको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए । त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते शुक्रबार र काठमाडौँ विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडाँै विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए । ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ । मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गरेको थियो । एमबिबिएसका लागि काठमाडाँै उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बिडिएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको छ ।
यसैगरी,मेडिकल कलेजहरूको छाता संगठन एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले मंगलबार साँचोसहितको ज्ञापनपत्र प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालयका उपकूलपतिहरू तथा सम्बन्धित डिनहरूलाई बुझाएको थिए । हचुवाका भरमा विभिन्न निर्णय गरेर कलेजहरूलाई धराशायी बनाइएको भन्दै एसोसिएसनले साँचोसहितको ज्ञापनपत्र बुझाएको हो । सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता गर्न निर्देशनसमेत दिइसकेको छ । सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालय सम्बद्ध पदाधिकारीको बैठकले विभिन्न मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिए शुल्क फिर्ता गर्नुपर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *