सभामुख र परराष्ट्र मन्त्री बिदेश प्रस्थान

काठमाडौं, ४ असोज । सभामुख कृष्णबहादुर महरा र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली शनिबार बिदेश प्रस्थान गरेका छन । सभामुख महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन काजकिस्तान प्रस्थान गरेका छन, भने परराष्ट्र मन्त्री ज्ञवाली संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क गएका हुन । सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काजकिस्तान प्रस्थान गरेका छन । यही सेप्टेम्बर २२ देखि २५ सम्म काजकिस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकलाई महराले सम्बोधन गर्ने सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन । काजकिस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन ।
यसैगरी परराष्ट्र मन्त्री ज्ञवाली संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन न्यूयोर्क लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली महासभामा सहभागी नहुने भएपछि परराष्ट्र मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका हुन । उनले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्कमा रहँदा परराष्ट्र मन्त्री ज्ञवालीले साकर्का विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने, अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेलगायत कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवाली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *