देशमा हिंसात्मक गतिविधि हुन नदिनका लागि चार दल एकताबद्ध हुने, शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्नेमा जोड


काठमाडौं, ४ भदौ । देशमा हिंसात्मक गतिविधि हुन नदिनका लागि प्रमुख चार राजनीतिक दलहरु एकताबद्ध हुने भएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेस, समाजवादी पाटी र मधेसवादी पाटीका शीर्ष नेताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको भन्दै एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सङ्घीयता, गणतन्त्र, लोकतान्त्रिक व्यवस्था र संविधानको पक्षमा एकताबद्ध भएर अगाडि बढ्ने भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एउटा वा अर्को कोणबाट प्रहार भइरहेको स्थिति छ । त्यसलाई क्षतविक्षत गर्ने प्रत्यन गरिएको छ, उनले भने, त्यसको निम्ति सङ्घर्ष गर्न सबै राजनीतिक पार्टीबीच एकताबद्ध र सझादारीका साथ अगाडि बढ्ने सहमति भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा बाबुराम भट्टराईसहित अन्य नेताले गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि ऐक्यबद्धता जनाएका छन् । उनीहरुले यसमा कहिकतैबाट प्रहार भयो भने हामी सहँदैनौँ । हामी सरकार र नेकपासँग एकताबद्ध छौँ, प्रवक्ता श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्नेमा जोड दिँदै देशमा फेरि कुनै प्रकारको हिंसात्मक गतिविधि हुन नदिने बताएका छन् । हिंसात्मक गतिविधिलाई प्रोत्साहित गर्न नहुने प्रधानमन्त्रीको भनाइ थियो । बैठकमा प्रधानमन्त्रीले देशमा हिंसात्मक गतिविधि हुन नदिनका लागि पनि सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्दछ । मुलुक शान्ति प्रक्रियामा आइसकेपछि कुनै पनि कोणबाट फेरि हिंसालाई उठ्न दिनु हुँदैन, बैठकपछि प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले बताए । सबैले हिंसा अन्त्य गर्नुपर्छ, दीर्घकालिन शान्तिका लागि एकताबद्ध हुनुपर्दछ । संविधान र कानून विरोध गतिविधिलाई जसरी भएपनि नियन्त्रण गर्नुपर्ने निष्कर्ष निकालिएको भन्दै आवश्यक परे वार्तामार्फत समस्याको समाधान गर्नुपर्दछ भन्नेमा सबै दल सहमत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले राजनीतिक पार्टीबीचमा दूरी कम गर्न, समझदारी र सहकार्यको प्रक्रियाबाट फेरि अगाडि बढ्ने उद्देश्यले यो बैठकको आयोजना गरिएको बताए । उनले बुधबार शान्ति प्रक्रियालाई केन्द्रित गरेर पुनः सर्वदलीय बैठक बस्ने जानकारी गराए । काङ्ग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्री भइसकेपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएकोले सकारात्मक रुपमा आफूहरुले लिएको बताए । बैठकमा प्रधानमन्त्री गम्भीर भएर प्रतिपक्षको आशय अपेक्षासहित आफ्नो विचार राखेको जनाइएको छ । उनले राखेका विषयलाई हामीले सकारात्मक रुपमा लिएका छौँ” उनले भने, राजनीतिक परिस्थितिका बारेमा सबै गम्भीर हुनुपर्दछ । राजनीतिक व्यवस्थामा आएको परिवर्तनले मुलुकलाई अगाडि लैजान सकिन्छ भन्ने विश्वास आजको सहमतिबाट देखिन्छ । संविधान, लोकतान्त्रिक गणतन्त्र, संसदीय शासन व्यवस्थाका माध्यमबाट मुलुकलाई अगाडि बढाउन सत्ता पक्ष गम्भीर भएका लाग्नुपर्ने उनले बताएका छन् । उनले शान्ति प्रक्रियालाई छिटोमा टुङ्गोमा पु¥याउनुपर्दछ भन्ने आजको निष्कर्ष रहेको भन्दै बुधबार नै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयन गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गरिने बताए । बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक सङ्घर्षमार्फत यो मुलुकमा संविधान ल्याएको भन्दै लोकतन्त्रप्रति सङ्घीयता, राज्य व्यवस्थामा सबै राजनीतिक दल इमान्दारितापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताए । बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, नेकपाका सचिवालय सदस्य झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय अध्यक्ष भट्टराईसहित राजपाका नेता महन्थ ठाकुरसहित चार दलका नेताको सहभागिता रहेको थियो ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीको कार्यशैलीप्रति चर्को रुपमा आलोचना गरे । देउवाले ओलीलाई भनेु तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न । तपाईंको गराई र भनाईमा धेरै फरक छ । जनतालाई सुरक्षा दिन्छु भन्नु भयो तर सुरक्षा छैन । विप्लव माओवादीले हाम्रो पार्टी का नेतालाइ गाउँगाउँ बाट लखेट्न थालेका छन् । गोली हान्ने थालेका छन् खोइ सुरक्षा भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्नुभएको थियो तर त्यस्तो देखिएन । जताततै भ्रष्टाचार भइरहेको छ । सरकारले नियन्त्रण गर्न सकेको छैन । विधेयकहरू जथाभावी बनाइरहनु भएको छ कसैसँग सल्लाह गर्नुहुन्न । दुई तिहाइको सरकार भन्नुहुन्छ तर त्यस्तो कहि देखिएको छैन । बोली र व्यवहारमा सुधार ल्याउन देउवाले सुझाव दिएका छन् । अन्य दलका नेताहरुले पनि सरकारलाई जनताको पक्षमा काम गर्न सुझाव दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *