समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य ः प्रचण्ड


काठमाडौं, ४ भदौ । भारतद्वारा निर्मित बाँधबाट बर्सेनी उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ ले बताएका छन । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा मंगलबार धनुषामा आयोजित छलफलमा उनले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन । छलफलमा उनले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक रहेको बताए । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु आवश्यक रहेको बताए । प्रदेश नं २ मा चुरे संरक्षण, बलियो बाँध निर्माण र नदीनाला नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सिङ्गै नेपालको समृद्धि प्रदेश नं २ सँग अन्तरनिहित भएका कारण पनि विपद्को दीर्घकालीन हिसाबले समाधान गर्न ध्यान केन्द्रित गर्नु जरुरी छ भने । अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा बाढीबाट पीडित जनसमुदायका लागि एउटा प्याकेजसहित आउने सरकारको तयारी भइरहेको जानकारी गराएका छन । देशैभर सुशासन र भ्रष्टाचार एउटा ठूलो चुनौती भएको कुरा समान्य रुपमा राखेको दाबी गरे । अब सरकार र हामी सबै आ–आफ्नो स्थानबाट भ्रष्टाचार, सुशासनको निम्ति अझ प्रभावकारी तरिकाबाट अघि बढ्नुपर्ने प्रचण्डको धारणा छ । । भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीसँग कुरा गरेको बताउँदै प्रचण्डले यसको निम्ति प्रदेश नम्बर २ सरकार, सम्पूर्ण राजनीतिक दलसंग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । प्रदेश २ को विकास र समृद्धिविना देश समृद्धिको कल्पना गर्न नसकिने बताउँदै प्रचण्डले चाँडै प्रदेश २ को लागि छुट्टै प्याकेज बनाएर आउने प्रतिबद्धता व्यक्त गरेका छन ।
अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी राष्ट्र भारतले नदीको प्राकृतिक बहावलाई अवरोध पु¥याउने किसिमले बाँध निर्माण गरेका कारण सीमावर्ती क्षेत्रका गाउँबस्तीमा डुबान र कटान समस्या जटिल बन्दै गएकातर्फ ध्यानाकर्षण गराए । विपद्को स्थायी समाधानको उपाय पहिल्याइ प्रभावकारी रूपले कार्यान्वयनमा ध्यान जानु जरुरी भएको चर्चा गर्दै उनले चुरे संरक्षणका लागि सक्रिय रूपले लाग्नुपर्नेमा जोड दिए । प्रदेश नं २ का आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश नं २ मा हरेक वर्षायाममा विपद् आइपर्ने भएकाले यसको स्थायी समाधानमा सङ्घीय सरकारको सहयोग अपरिहार्य भइसकेको बताए ।उनले सङ्घीय सरकारले चुरे क्षेत्रमा राजमार्ग निर्माण र बस्ती बसाउने योजना अघि सार्ने चर्चाले प्रदेशमा मरुभूमिकरणको समस्या निम्त्याउने भएकाले विनाश हुने कार्य तुरुन्त रोक्नुपर्ने बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ प्रदीपराज कर्णले कमला नदीमा तटबन्ध तथा सडक निर्माण, कृषकलाई राहत हुने कार्यक्रम र कृषि बीमाको व्यवस्था तत्काल जरुरी भएको धारणा व्यक्त गरेका छन ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन । उनले जनकपुर पुगेका पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन । काम गर्न नेतृत्व तहबाट निरन्तर असहयोग भएपछि पदबाट राजीनामा दिएको शाहको भनाइ छ । स्थायी कमिटी सदस्यको दावेदार रहेका शाह कमिटीमा नपरेपछि असन्तुष्ट बनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *