आरक्षण बचाउ अभियन्ताद्वारा बालुवाटारमा विरोध प्रदर्शन

काठमाण्डौ, २९ साउन । विभिन्न जनजातिसँग सम्बन्धित संघ संस्थाहरुले लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेका छन् । आरक्षण बचाउ आन्दोलनको नेतृत्वमा भइरहेको आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ । संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चिता गरेको सन्दर्भमा राज्यले त्यसलाई बेवास्ता गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नारावाजी गरेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग सामान्य झडप समेत भएको थियो । लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेज गर्दै आरक्षणसहित नयाँ विज्ञापन जारी नगरेसम्म आन्दोलन नरोकिने अभियन्ताले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *