हिरासतमा राखिएका नेता–कार्यकर्तालाई रिहा नगरिए प्रतिरोध सङ्घर्षमा उत्रिने चेतावनी

काठमाडौँ, २९ साउन । गिरफ्तार गरी हिरासतमा राखिएका नेता–कार्यकर्तालाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध सङ्घर्षमा उत्रिने चेतावनी नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले दिएको छ । नेपाल कम्युनिस्ट पार्टीको भेरी–कर्णाली ब्युरो सदस्य एवम् बर्दिया जिल्ला सेक्रेटरी गणेश ढकाल ‘कमल’ लाई प्रहरीले पार्टी कामको सिलसिलामा बर्दिया जिल्लाको गुलरियाबाट साउन २६ गते गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । भेरी–कर्णाली ब्युरोका इन्चार्ज रविले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरो सदस्य एवम् बर्दिया जिल्ला सेक्रेटरी कमरेड गणेश ढकाल ‘कमल’ लाई प्रहरीले पार्टी कामको सिलसिलामा बर्दिया जिल्लाको गुलरिया भन्ने ठाउँबाट साऊन २६ गते दिउँसो तीन बजे गिरफ्तार गरेको घटनाले भेरी–कर्णाली ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ । केही समययता क्रान्तिकारीहरूको ऊर्वर भूमि भेरी–कर्णालीमा वली सरकाले गिद्देदृष्टि लगाएर क्रान्तिकारीहरूलाई विचलित गराउने र आफ्नो लुटको स्वर्ग स्थापित गर्ने उद्देश्यले दिन–प्रतिदिन हाम्रा नेता तथा कार्यकर्ता गिरफ्तार गर्दै आतङ्क मच्चाइरहेको छ । यो सरकारले हाम्रो पार्टी नेकपा र एकीकृत जनक्रान्तिको कार्यदिशा सफल हुन नदिन अनेक हतकण्डा मच्चाइरहेको छ र कमरेड कमललाई झूट्टा मुद्दा लगाएर हाल बर्दिया जिल्लाको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।’विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग एकीकृत जनक्रान्तिको बाटोमा हिँडिरहेका हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निरन्तर गिरफ्तार गर्ने, यातना दिने, हिरासत र जेल पठाउने, झूट्टा मुद्दा लगाउने, हिटलर शैलीमा धरपकड गरी बन्दी बनाउनेजस्ता अति बर्बरतापूर्ण हर्कत गर्दै आएको छ । दलाल पुँजीपति वर्गको नेतृत्व गर्दै आएको सरकारको दमनकारी शासन हिजोको राणाशासन, राजाको तानाशाही व्यवस्था, पञ्चायती शैलीको भन्दा भयङ्कर र क्र्रुर बन्दै गएको देखिन्छ ।’विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको लोगो बेचेर झूटको खेती गर्दै आइरहेको सरकारले हाम्रो पार्टी नेकपामाथि प्रतिबन्ध लगाएपछि देशैभर हाम्रो पार्टीमा संलग्न ६०० भन्दा बढी नेता तथा कार्यकर्तालाई बन्दी जीवन जिउन बाध्य पारेको छ र कयौँलाई कठोर यातनाका साथ हिरासतमा राखेको छ । हाम्रा सबै नेता तथा कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न माग गर्दछौँ । अन्यथा यो सरकारको तानाशाही कदमविरुद्ध हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध सङ्घर्षमा उत्रिन बाध्य हुनेछ ।’
यस्तै नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज देवीलाल पुनसहित छ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’ लाई चौथो पटक गिरफ्तार गरिएको छ । ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले तेस्रो पटक आदेश दिएको थियो तर सर्बोच्चको आदेशसँगै प्रहरीले जिल्ला अदालत प्युठानबाटै गिरफ्तार गरि अर्घाखाँची जिल्लाको सन्धिखर्क लगिएको छ ।ओलीको गिरफ्तारी पछि तेस्रो पटक दायर गरेको प्रत्यक्षीकरणको रिटउपर सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै सर्वोच्चले रिहाकोआदेश दिएको थियो । ओलीलाई गैरन्यायीक तरीकाले हिरासतमा राखेको भन्दै रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।रोल्पाको गंगादेव गाउँपालिका ३ का ओलीलाई प्रहरीले बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार गरेको थियो । प्रहरीले ओलीलाई रोल्पामा संगठित अपराध र एनसेल टावर आगजनीसम्बन्धि मुद्दा लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *