संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा भट्टराई नियुक्त,प्रधानमन्त्रीद्वारा मन्त्रीहरूलाई रफ्तारमा काम गर्न निर्देशन,

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेशकुुमार भट्टराईलाई नियुक्त गरेका छन । सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै आएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुुङमा भएको हेलिकप्टर दुुर्घटनामा निधन भएको थियो । यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गराएकी छिन । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नव नियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममा सहभागी थिए । साथै संवैधानिक निकायमा प्रमुख, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागी थिए । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले आफू मन्त्री भएकोमा पत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन् ।मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो रमाइलो नलाग्ने बताए । ‘बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनुहोला,’ बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले भने ।उनले मन्त्रालयमा बोलिने भाषामा पनि चासो देखाएका छन । आइस्योस, गइस्योस् भन्ने भाषा मन्त्रालयमा कसैले पनि प्रयोग नगर्न भट्टराईले निर्देशन दिएका छन ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिबी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिबी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पारे। बुधबार सिंहदरबारमा मन्त्रालयहरूको वार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यसम्पादन सम्झौता बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताका कारण काम गर्ने वातारवरण भएन भन्ने छुट कसैलाई पनि नभएको बताए । उनले देशमा विकासको संभावना धेरै हुँदाहुँदै पनि गरिब र पिछडिएको देश भनेर बस्नु परिरहेको भन्दै अब रफ्तारमा काम गर्नुपर्ने बताए । ‘हामीलाई जनताले दुई तिहाइ बहुमत दिएर पठाएका छन, स्थायी सरकार बनेको छ, ढुक्कले काम गर्न पाउने अवस्था छ । तपाईंहरूले अलमल नगरिकन काम गर्नुस,’ प्रधानमन्त्रीले भने । २४ वटै मन्त्रालयहरुले आर्थिक वर्ष २०७६–७७ का लागि तयार पारेका कार्ययोजना पेश गरेका हुन । सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटका आधारमा तयार पारिएको मन्त्रालयगत कार्ययोजनाको सम्झौतामा प्रधानमन्त्री ओली र विभागीय मन्त्रीहरूले हस्ताक्षर पनि गरेका छन्। सरकारको कामकारबाहीमा सुस्तता आएको जनगुनासो बढेको भन्दै असार अन्तिम साता भएको मन्त्रालयहरूको समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कामको रफ्तार बढाउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए । सोही बैठकमा उनले आगामी वर्षको कार्ययोजना बनाएर ल्याउन पनि भनेका थिए । प्रधानमन्त्रीको निर्देशनकै आाधार आफ्नो मन्त्रालयको बजेट सिलिङभित्र रहेर योजनाहरू तयार पार्न निर्देशन उनले दिएका थिए । प्रधानमन्त्रीसँग भएको सम्झौताअनुसार अब मन्त्रालयहरूले आफूले निर्धारण गरेका कार्यतालिकाभित्रै रहेर मन्त्रालयगत काम सम्पन्न गर्नुपर्नेछ । यसअघि अघिल्लो आर्थिक वर्षमा मन्त्रालयहरूले घोषणा गरेबमोजिम काम गर्न नसकेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई यसपालि लिखित सम्झौतामा नै हस्तारक्षर नै गर्न लगाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *