
काठमाडौं, १५ साउन । नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले बौनियाँमा चार जनाको घरजग्गा कब्जा गरेको छ । जनपरिषद् नेपाल बर्दगोरियाले ४३ विघा १७ कट्ठा जमिन र घर बुधबार कब्जा गरेको हो ।
कब्जा गरिएको जग्गामा पार्टीको ब्यानर टाँगिएको छ । बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा जग्गा कब्जा गरिएको नेकपाले जनाएको छ ।कब्जा गरिएको जग्गा राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ बिघा र घर रहेको छ । त्यस्तै देवबहादुर मल्लको ८ बिघा जमिन र घर, सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैङ्कको स्वामित्वमा रहेको १७ कट्ठा जमिन पनि जनपरिषद्ले कब्जा गरेकोे छ । उक्त जग्गा जनयुद्धकालमा नेकपामा ओवादीले कब्जा गरेको थियो ।नेकपाले कब्जा गरेको उक्त जग्गामा टाँगिएको ब्यानरमा जनयुद्धका क्रममा कब्जा गरिएका सबै जग्गा पुनः जनपरिषद्ले कब्जा गरेको उल्लेख छ । ब्यानरमा जग्गा बिक्रीवितरणमा संलग्नलाई पार्टीले भौतिक कारबाही गर्ने चेतावनीपूर्ण सूचना राखिएको छ । पार्टीको नीति र निर्णयअनुरूप नै बर्दगोरिया जनपरिषद्ले उक्त जग्गा कब्जा गरेको जानकारी नेकपा कैलालीले दिएको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीले बुधबारकालागि आह्वान गरेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम भव्य रूपमा सफल भएको जनाएको छ । नेकपाले बन्द सफल पार्न सघाउने सबैलाई धन्यवाद दिँदै आभार पनि प्रकट गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले प्रेस वक्तव्य जारी गर्दै पार्टीले घोषणा गरेको सङ्घर्षका विभिन्न कार्यक्रम र बन्द सफल पार्न सघाउने आम जनसमुदाय, शैक्षिक–व्यापारिक तथा यातायातसँग सम्बन्धित निकायहरू, उद्योगी–व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, समर्थक, शुभचिन्तक एवम् पार्टी पङ्क्तिप्रति पार्टीका तर्फबाट हार्दिक धन्यवादका साथै आभार प्रकट गरेका हुन् ।प्रकाण्डद्वारा जारी वक्तव्यमा भनिएको छ,साउन ४ गते राति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, उपत्यका ब्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज कमरेड माइला लामा ‘प्रज्वल’लाई गिरफ्तार गरी नाङ्गो झूट र नक्कली बहानामा जेल चलान गरेको घटनाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेका सङ्घर्षका विभिन्न कार्यक्रम र साउन १५ गतेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम भव्य रूपमा सफल भएको छ । बन्दको सफलताले नेकपाका नेता–कार्यकर्तामाथि लगाउँदै आएको झूट्टा आरोप पूर्णतः खारेज भएको प्रमाणित गरेको छ । हाम्रो पार्टी बन्दलगायत सङ्घर्षका कार्यक्रम सफल पार्न सहयोग गर्ने आम जनसमुदाय, शैक्षिक–व्यापारिक तथा यातायातसँग सम्बन्धित निकायहरू, उद्योगी–व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, समर्थक, शुभचिन्तक एवम् पार्टी पङ्क्तिप्रति हार्दिक धन्यवादका साथै आभार प्रकट गर्दछ ।’वक्तव्यमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी इतिहासकै तानाशाहहरूको हर्कतलाई ओझेल पार्ने निरङ्कुश र आततायी गिरफ्तारी एवम् दमनको निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामालगायत अन्यायपूर्वक जेल र हिरासतमा राखिएका सम्पूर्ण कमरेडको रिहाइको माग गर्दछ ।’