कर्णाली र म्याग्दी ब्युरो इन्चार्ज र सेक्रेटरीसहित ६ जना पक्राउ, सरकारी दमन र धरपकडको विरोध, बिनाशर्त रिहाईको माग

काठमाडौँ, ७ साउन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली ब्युरो इन्चार्ज र जिल्ला सेक्रेटरी पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय जुम्लाले विप्लव नेतृत्वको नेकपा युवा संगठनका कर्णाली ब्युरो इन्चार्ज बखतबहादुर बिष्ट र जिल्ला सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)लाई पक्राउ गरेको हो । उनीहरुलाई हिमा गाउँपालिकाको धाँचुगाउँबाट सुतेकै अवस्थामा सोमबार बिहान ४ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए । सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचुगाउँमा आएको सूचनाका आधारमा पक्राउ गर्न टोली खटाइएको उनले बताए । उनीहरुका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पार्टीको युवा अभियान सञ्चालन गर्न उनीहरु गाउँमा गएको बताइएको छ ।
यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता म्याग्दीबाट पक्राउ परेका छन् ।तत्कालीन धवलागिरि ब्यूरो सदस्य हाल म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सोमबार साँझ म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित नयाँपुलबाट पक्राउ गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।पक्राउ परेका नेताद्वयलाई म्याग्दी जिल्लाको स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधि, व्यापारी तथा सरकारी कर्मचारीलाई धम्क्याएर जबरजस्ती चन्दा असुली गर्ने गरेको प्रहरी नायब उपरीक्षक मरासिनीको भनाइ छ । यसैगरी गएको फागुन ११ गते राति म्याग्दीका ५ ओटा एनसेलको टावरमा भएको आगजनीमा समेत संलग्न भएको पाइएको उनले जानकारी दिए । पक्राउ परेका क्षेत्री र शाक्यको साथबाट ध१प २१७० नम्बरको यामाहा मोटरसाइकल र तीन ओटा मोबाइल सेट बरामद गरिएको छ । उनीहरुमाथि अहिले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सरकारी दमन र धरपकडको विरोध गर्दै शान्ति सुरक्षाको नाममा सरकारले नागरिकहरुलाई विनाकारण दुःख दिएको बताएको छ । सो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कामको सिलसिलामा रहेका आफ्नो संगठनका केन्द्रीय सदस्य शितल विष्टलाई प्रहरीले जुम्लाबाट गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेका छन् । अध्यक्ष पाटनले राजनैतिक आस्थाकै आधारमा सरकारले आफ्नो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत देशैभरी सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै बिनाशर्त रिहाईको माग गरेका हुन् । पाटन जंगलीले देखावटीरुपमा वार्ताको हल्ला फैलाएपनि भित्री रुपमा बार्ता भन्दा पनि आफ्नो पार्टीका नेताकार्यकर्ता गिरफ्तार गर्ने योजनामा सरकार रहेको भन्दै सचेत हुनुपर्ने बताएका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ इन्चार्ज विजय श्रेष्ठ ‘प्रज्वलन’लाई रिहा गर्न काभ्रे जिल्ला अदालतले आदेश दिएको छ । अदालतको आदेशमा रिहालगत्तै गृह प्रशासनले पुनः गिरफ्तारी गरी रुपन्देही लिने तयारी गरिएको समाचार प्राप्त भएको छ ।सोमबार भएको थुनछेकको बहसपछि अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरी काभ्रे पु¥याएको थियो ।बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल लगायतले बहस गरेका थिए । यसअघि गिरफ्तार परेका नेकपाका अन्य नेताहरु भने सोही मुद्दामा बिना धरौटी रिहा भएका थिए ।नेता श्रेष्ठलाई प्रहरीले गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीको खानीखोलाबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँगै गिरफ्तार गरेको थियो ।
सैगरी (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई सघाएको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा आवद्ध एक स्वास्थ्यकर्मीलाई प्रहरीले छाडेको छ । गोरखा नगरपालिका १० छेपेटारस्थित सहरी स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेव रामचन्द्र पाण्डेलाई प्रहरीले सोमबार छाडेको हो । विप्लव समूहको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार पाण्डेलाई पक्राउ गरेको थियो। गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले आवश्यक अनुसन्धानपछि तारेखमा रहने गरी पाण्डेलाई छाडिएको जानकारी दिए । ‘सोधपुछ गरेर तारेखमा छाडेका छौं,’ अधिकारीले भने । छेपेटार निवासी पाण्डे कांग्रेस शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ गोरखा उपाध्यक्ष, निजामती कर्मचारी युनियन (संघ) को जिल्ला सदस्य र स्वास्थ्यकर्मीको साझा संस्था नेपाल स्वास्थ्यकर्मी संघको गण्डकी प्रदेश उपाध्यक्ष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *