देउवाद्वारा सरकारविरुद्व आन्दोलन चर्काउने चेतावनी

काठमाडौँ, ७ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्व आन्दोलन चर्काउने चेतावनी दिएका छन् । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान रहेको बताए । बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताए । उनले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पारे ।सङ्घीय संसदमा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका देउवाले भने, “लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढङ्गले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक सङ्घर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ । मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउने ढङ्गबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ ।” अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट काम भइरहेको बताउँदै उनले व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको आरोप लगाए । बिपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हाँसिल गर्न सकिने बताउँदै सभापति देउवाले भने, “बिपीको विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रुपमा स्थापित उनको व्यक्तित्व साच्चिकै असाधारण छ ।” राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई एकसाथ अघि बढाउनुपर्छ भन्ने मान्यतामा दृढ बिपीलाई राष्ट्रप्रति माया भएकै कारण मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको हो भन्दै उनले मुख्य कुरा भनेको प्रजातन्त्र हो, प्रजातन्त्रविनाको समाजवाद हँुदैन भन्ने उनको प्रष्ट धारणा थियो भने । उपसभापति विमलेन्द्र निधिले बिपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार अघि सार्नुभएकाले देशका लागि प्रजातन्त्र नै अपरिहार्य शर्त हो भन्ने पक्षलाई सबैले मनन गर्नुपर्छ भने ।सोही दलका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको विजयको हिसाबले बिपीको विचारले निकै ठूलो उचाइ प्राप्त गरेको बताए । उनले भने, “अहिले मुलुकका सबै राजनीतिक दलका नेतृत्वको प्रेरणको स्रोत बिपी भएको र सबैले गौरवका साथ स्वीकार गरेको अवस्था हो, राजा र कम्युनिष्टले बिपी विचारलाई बुझेको भए यो देश र जनताले यति धेरै दुःख भोग्नुपर्ने थिएन ।” प्रतिष्ठानका संस्थापक ढुण्डिराज शास्त्रीले बिपीले लिनुभएको प्रजातान्त्रिक समाजवादको बाटो लोकतान्त्रिक सिद्धान्त र मानव कल्याणको उचित गन्तव्य थियो भन्ने विद्यमान राजनीतिक घटनाले पुष्टि गरेको धारणा व्यक्त गरे । प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाल र उपाध्यक्ष अञ्जली श्रेष्ठले वर्षमा एकपटक बिपीको योगदानको कुरा मात्र नगर्न र शहीद परिवारप्रति गर्नुपर्ने कर्तव्यप्रति सोचेर काम गर्न सुझाव दिएका छन ।
यसैगरी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गरेका छन । उनले सोमबार हेटौँडामा विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्टहरू शुरुदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता र व्यक्तिको उन्नतिका लागि मात्र काम गर्दै आइरहेको आरोप लगाए । नेता पौडेलले अहिले सरकार भ्रष्टाचारको दलदलमा फसेको जिकिर गर्दै कम्युनिष्ट पार्टीको विकल्पका रूपमा काङ्ग्रेसलाई उभ्याउनुपर्ने भन्दै पार्टीले जनताको भरोसा जित्न नसक्नुका कारण माथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताए । बिपीको आदर्शलाइ आत्मसात् गर्न सकेमा मात्र पार्टी बलियो हुने र आफ्नो गल्ती स्वीकार गर्न सकेमा मात्र बिपीको अनुयायी भन्न सुहाउने नेता पौडेलको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *