बिभिन्न घटनामा ५ जनाको मृत्यु

काठमाडौँ, ७ साउन । दाङ र पाँचथरमा भएको बिभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ ।दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो । उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।
यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार सोमबार बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो । उक्त स्थानमा निर्माण गर्न लागिएको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिएको भए पनि राम्रोसँग नअडिएको पाइएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *