राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएको ः उपसभामति निधि

चितवन, २० असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखेका छन् । अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखेका थिए । निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको बताए । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो । “काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन”, उनले बताए । सरकारले गरेका कामहरुका कारण जनतामा फेरि काँग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए । फरक प्रसङ्गमा उनले नेविसङ्घको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने बताएका छन् ।
त्यसैगरी बिहीबार पार्टीले विज्ञप्ति जारी गर्दै नेपाली काङ्ग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरु गठन हुने स्पष्ट पारेको र नयाँ संरचना निर्माण बारे सार्वजनिक भएका अस्पष्टता र भ्रम निवाराणार्थ भएको जनाएको छ । विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विधानको व्यवस्थाभन्दा बाहिर केन्द्रीय सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचार निराधार भएको विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेसको विधानमा पार्टीको नयाँ संरचना गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते बस्दैछ । पार्टीले संशोधित विधान कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुने पार्टी कार्यालयले जनाएको छ । साथै बैठकले नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरुपका पार्टी संरचना निर्माण गर्ने सम्बन्धमा बैठकले आवश्यक निर्णय लिने बताइएको छ । केन्द्रीय समितिको बैठक लगतै नेपाल विद्यार्थी सङ्घ लगायतका भ्रातृ संस्थाहरु बारेका निर्णय आवश्यक परामर्शपश्चात हुने विज्ञप्तिमा जनाइएको छ ।
काङ्ग्रेसले आगामी भदौ २४ बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पूर्व नै संशोधित विधान अनुरुपका सबै संरचना निर्माण गर्ने घोषणा गरिसकेको छ । पार्टीको प्रथम चरणको जागरण अभियान मुलुकभर एकसाथ गत वैशाख २५ देखि जेठ २५ गतेसम्म भएको थियो । तेस्रो चरणको जागरण अभियान आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने काङ्ग्रेसले जनाएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *