प्राकृतिक सम्पदा संरक्षण गर्न सबै एकजुट हुनुपर्छ ः सभामुख महरा

घोराही, २० असार । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङको देउखुरी विभिन्न सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । लमही नगरपालिकाले विश्व वातावरण दिवसको अवसर पारेर आज यहाँ आयोजना गरेको बृहत् वृक्षरोपण कार्यक्रममा उहाँले पछिल्लो समय विभिन्न बहानामा वन जङ्गल मास्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो । वन जङ्गल जोगाउन सामुदायिक वनका उपभोक्ता स्वयम् सक्रिय हुनुपर्ने सभामुख महराको धारणा थियो । उहाँले सङ्घीय संसद्मा वातावरण परिवर्तनबारे बहस चलिरहेको बताउनुभयो । प्राकृतिक सम्पदाको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो । “सबैको ध्यान वन जोगाउने तिर हुनुपर्छ । अनि मात्र नेपाललाई सधैँ हरियाली देख्न पाइन्छ”, सभामुख महराले भन्नुभयो । सो अवसरमा उहाँले लोपोन्मुख सतिसालको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सांसद मेटमणि चौधरीले मुलुकलाई हरियालीको रुपमा विकास गर्न देशभर वृहत वृक्षरोपण तथा वनको संरक्षणको आवश्यकता रहेको बताउनुभयो । लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले जिल्लाका स्थानीय तहलाई सङ्घीय सरकार र प्रदेश सरकारको बजेटले छुन नसकेको गुनासो गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *