क्लिन फीड लागू भएर छाड्छ, विरोध गर्नुको अर्थ छैन

काठमाडौँ, १३ असार । सरकारले ‘क्लिन फीड’ नीति लागू गरेरै छाड्ने दृढता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले उक्त नीति लागू गरेरै छाडिने बताएका हुन । टेलिभिजन सेवा प्रदायकले क्लिन फीड नीति लागू गर्न लागेको भन्दै टेलिभिजन प्रसारण नै बन्द गरिरहेको बेला सरकारले उक्त नीति लागू गराउन कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट पारेका छन । प्रतिनिधिसभाको समितिमा छलफल भइरहेको प्रस्तावित ‘विज्ञापन ऐन २०७६’ को केही व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकले टेलिभिजन प्रसारण नै बन्द गरेर विरोध जनाएका थिए । नेपालको कला संस्कृतिको संरक्षण, भाषाको शुद्धता तथा नेपाली कलाकार र विज्ञानपन दाताको समेत हितलाई केन्द्रमा राखेर उक्त नीति लागू गर्न लागिएको सरकारको भनाइ छ । नेपालको पत्रकारिता क्षेत्र, मिडिया उद्योग, विज्ञापन व्यवसायीले वर्षौ पहिलेदेखि माग गर्दै आएको क्लिन फीड नीतिलाई सरकारले इमान्दर भएर लागू गर्न खोजेको उनको प्रष्टोक्ति छ । उक्त नीतिले हाम्रो आर्थिक हित मात्रै नभई मौलिकताको प्रवद्र्धन गर्ने नेपाली पन, नेपाली गौरवको बढावा दिने र रोजगारीको समेत अभिवृद्धि हुने मन्त्री बाँस्कोटाको भनाइ छ । उनले नेपालको प्रतिस्पर्धी क्षमताको विकासका लागिसमेत क्लिन फीड नीति लागू गर्न लागिएको स्पष्ट पारे । विपक्षमा रहेका व्यवसायीको विरोधको कुनै अर्थ नरहेको भन्दै उनले भने, “क्लिन फीड लागू भएर छाड्छ । समानुपातिक विज्ञापन नीति पनि लागू भएर छाड्छ । व्यवसायीले विरोध गर्न पाउँछन् । विधेयक समितिमा छलफल भइरहेको छ । पारित हुन्छ । अरु केही कानून पनि आउँछन् । कानूनहरु आउँछन् त्यसमाथि छलफल हुनु राम्रो हो ।”
मन्त्रिपरिषद् पुनः गठनको बारेमा सञ्चारकर्मीको जिज्ञाशामा मन्त्री बाँस्कोटाले त्यो प्रधानमन्त्रीको विशेषाधिकार रहेको बताए । प्रधानमन्त्रीको अधिकारको विषयमा आफूले जवाफ दिन नसक्ने भन्दै मन्त्री बाँस्कोटाले भने, मन्त्रीहरु प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन् । राख्न, हटाउन, विस्तार गर्न पाउने प्रधानमन्त्रीको अधिकार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *