विप्लव समूह हिंसा र आतङ्कको साहरामा अल्झिएको आरोप,फेक इन्काउन्टर काण्डले गृहमन्त्री आईजीपीसंग रुष्ट

काठमाडौँ, १३ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा हिंसा र आतङ्कको साहरामा अल्झिएको भन्दै त्यस्ता क्रियाकलापले कोही कसैको भलो नगर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा नेत्रविक्रम चन्द समूहको क्रियाकलाप प्रतिक्रान्तिकारी र समाजको शान्ति र स्थिरता विरोधी रहेको बताए । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई समेत धरापमा पार्ने गरी सो समूहले हत्या, हिंसा गरेको, चन्दा आतङ्क मच्चाएको र संविधान विरोधी गतिविधि गरेको उल्लेख गरे । निर्दोष नागरिकको ज्यान जाने गरी सो समूहले संविधान विपरीतको गतिविधि गरेको र पटक पटक वार्ताका लागि प्रयास गर्दासमेत नआएको भन्दै उनले हिंसाले केही पनि प्राप्त नहुने स्पष्ट पारे । शान्ति सुरक्षा माथि खलल पु¥याउने, शान्ति स्थिरता र लोकतन्त्र माथि आँच आउने गतिविधिलाई नियन्त्रण गर्नु सरकारको दायित्व हुनेसमेत उनको प्रष्टोक्ति थियो । पृथकतावादी गतिविधि गर्दै आएको सिके राउत समूहसमेत राजनीतिक मूल धारमा आई दल दर्ता गरेको सन्दर्भमा विप्लव समूह हिंसा र आतङ्कको साहरामा अल्झिएको भन्दै त्यस्ता क्रियाकलापले कोही कसैको भलो नगर्ने स्पष्ट पारे । उनले भने, “विप्लव समूहको गतिविधि क्रान्तिकारी नभएर प्रतिक्रान्तिकारी गतिविधि हो । समाजवादी नभई फाँसीवाद र राजनीतकि नभएर आपराधिक खालको देखिन्छ । घटनाक्रमले त्यही पुष्टि गरेको छ ।” मन्त्री बाँस्कोटाले हत्या हिंसा र आतङ्कबाट राष्ट्र, नागरिक र देशलाई जोगाउनु हामी सबैको र विशेष गरी सरकारको दायित्व रहेको बताए । चन्द समूहले अहिले पनि उस्तै गतिविधि जारी राखेको भन्दै उनले नेपालले प्राप्त गरेको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको उपलब्धिलाई पनि गुमाउने गरी काम गरेको उल्लेख गरे ।
यसैगरी सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चौतर्फी प्रश्नको घेरामा छन् । गृहमन्त्री बादल प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसंग रुष्ट भएका छन् । सर्लाहीको लालबन्दीमा प्रहरीसंग मुठभेड हुंदा मृत्यु भएको सरकारी दाबीमाथि आशंका गर्दै संसददेखि सामाजिक सञ्जालसम्म विरोध भइरहेको छ । सरकारी गोलीबाट ज्यान गुमाउने पौडेल मात्रै होइनन, यसअघि भोजपुरमा तीर्थराज घिमिरेको समेत मृत्यु भइसकेको छ । आफूमाथि घेराबन्दी भएपछि मनपरी गर्ने प्रहरी नेतृत्वमाथि गृहमन्त्री बादल खनिएका छन् । स्रोतका अनुसार गृहमन्त्री बादलले आईजीपी सर्वेन्द्र खनाललाई सोधे, ‘सरकारी नीति विपरीत इन्काउन्टर किन भयो ?’ गृहमन्त्री बादलले खनाललाई अभियुक्त पक्राउ गर्ने क्रममा घुंडामुनि मात्रै गोली हान्ने सरकारी नीति स्मरण गराएका छन् ।
यस्तै नेपाली काङ्ग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुन नरसिंह केसीले सर्लाही हत्याकाण्डको यथार्थ तत्काल सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमा सन्देश प्रवाह गर्दै केसीले मुलुकमा शृङ्खलाबद्ध गैरन्यायिक हत्या निरन्तर चल्दै आएकोमा चिन्ता र चासो पनि व्यक्त गरेका छन् ।उनले निरन्तर गैरन्यायिक हत्या भइरहेको तर त्यो हत्याकाण्डको ‘तृणमूल’ तहमा कहिल्यै छानबिन नभएकोमा पनि चिन्ता व्यक्त गरेका छन् ।उनले भनेका छन, ‘लोकतन्त्रको सर्वमान्य सिद्धान्त जीवन, धन, स्वतन्त्रता र सम्मानको सुनिश्चितता हो । इन्काउन्टरका नाउँमा जस्तोसुकै अपराधी भए पनि ज्यान लिनु राज्य अपराध हो । सर्लाही घटनाको यथार्थ सार्वजनिक हुनु जरुरी छ ।’स्मरणीय छ, यही असार ५ गते नेकपा सर्लाहीका इन्चार्ज तथा लोकप्रिय सुकुमबासी नेता कुमार पौडेललाई प्रहरीले लालबन्दी १, लखन्तीखोला नजिक नियन्त्रणमा लिइसकेपछि ठाउँठाउँमा हात भाँचेर हात र टाउकोमा गोली पहार गरी हत्या गरेको थियो । उक्त हत्याकाण्डको चौतर्फी विरोध र भत्र्सना भइरहेको र राष्ट्रिय मानवअधिकार आयोगले समेत छानबिन सुरु गरिरहेको समयमा केसीको यो भनाइ सार्वजनिक भएको हो ।
उता नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गोरखा जिल्ला सदस्य तथा किसान संगठनको जिल्ला संयोजक रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति ११ बजेतिर शहीद लखन गाउँपालिका – ४ को राइनासबाट पन्तलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यही ठाउँमा स्थायी घर भएका पन्तलाई कुरिनटार प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । पन्तमाथि राजद्रोहको कसुरमा जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको रावलले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *