चट्याङ लागेर ६ जनाको मृत्यु

काठमाण्डौ, ११ असार । रुपन्देही र दाङमा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । रुपन्देहीका ग्रामीण क्षेत्रमा चट्याङ लागेर मंगलबार तीन जनाको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङमा परेर मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्रबहादुर विक छन् । अपराह्न घर नजिकै गाईवस्तु चराउने क्रममा एक्कासी चट्याङ परेर घाइते भएका विकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।त्यसैगरी कञ्चन गाउँपालिका वडा नंं २ वसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्यालको मृत्यु भएको प्रहरीले बताएको छ । यता गैडहवा गाउँपालिका–७ वर्गदैया बस्ने राम जीत लोधका २५ वर्षका छोरा भागवतदास लोधको पनि चट्याङ लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्य पूराले जनाएको छ ।
यसैगरी दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मंगलबार साँझ परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार राप्ति–४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनको रुखमा चढेका बेला सोही रुखमा परेको चट्याङले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो । साथै सोही रुखमा चढेका विनासका भाई आठ वर्षीय अविनास चौाधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *