विप्लव छिट्टै मूलधारको राजनीतिमा फर्किने प्रचण्डको दावी

चितवन, ११ असार । नेत्र विक्रमचन्द विप्लव छिट्टै मूलधारमा फर्किने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डले दावी गरेका छन । मंगलबार भरतपुर महानगरको चौथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेत्र विक्रमचन्द ‘विप्लव’ मूल धारको राजनीतिमा आउने बताए । अध्यक्ष प्रचण्डले अशान्ति फैलाएर समस्या समाधान नहुने भन्दै आफूले पाएको जानकारीअनुसार विप्लव छिट्टै मूलधारमा फर्किने तयारीमा रहेको बताए । दुई चार वटा बम पड्किँदैमा समृद्धिको यात्रा विथोलिन्छ कि भन्ने शंका नगर्न आग्रह गर्दै प्रचण्डले देशको सबै अवस्था विप्लवले बुझिसकेकाले अब यस्ता गतिविधि धेरै नगरी शान्तिको बाटोमा आउने कुरामा आफू विश्वस्त रहेको बताए । शान्ति प्रक्रियामा आउँदा पार्टीका सबै नेताहरुलाई काठमाण्डौमा सुरक्षित अवतरण गराएको स्मरण गदै अध्यक्ष प्रचण्डले विगतमा पार्टी फुटाएर गएकाहरु फर्किँदै आइरहेका र विप्लव पनि त्यसरी नै आउने दाबी गरे । प्रचण्डले देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा काङ्ग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले भने, “हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ, प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मेरोबीचमा लगातार छलफल भइरहेको छ ।” अध्यक्ष प्रचण्डले “हामी एक्लै हिड्न सक्ने अवस्थामा छैनौँ, शान्ति पक्रियामा मिलेर ग¥यौँ, संविधान मिलेर ल्यायौँ, हामी एउटै डुङ्गामा यसरी चढेका छौँ, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही होइन ।” अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द समूहको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउनेमा विश्वास व्यक्त गर्दै भरे, “जसरी साथी फर्किरहनुभएको छ त्यसरीनै विप्लवजी आउनु हुन्छ ।” शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रुपमा रहेर काम गरेको स्मरण गर्दै उनले चन्दमा केही असन्तुष्टि भने त्यतिबेला पनि देखिएको बताए । प्रचण्डले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन नदिने विश्वास दिलाए । “महानगरलाई नमूना बनाउन सुझाव दिँदै भ्रष्टाचाररहित महानगर बनाउनुपर्छ”, भने । यहाँको विकास समग्र देशसँग जोडिने भएकाले सोहिअनुसार काम गर्न उनको आग्रह थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय तीनै तहको समन्वय हुन सके समृद्धि हासिल गर्न सहज हुने बताए । उनले भने, “विकासका लागि तीनैतहका सरकारबीच पर्याप्त समन्वय हुनुपर्दछ अनि मात्र समृद्धि हासिल गर्न सहज हुन्छ ।”कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीलगायतले महानगरेको विकासमा सबैलाई एक हुन आग्रह गरे ।सो अवसरमा महानगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । महानगरले ल्याएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि आर्थिक वर्ष २०७६÷७७ का लागि रू तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार बजेट विनियोजन गरेको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तावित बजेट प्रस्तुत गरेकी थिन ।
यसैगरी ‘प्रचण्ड’ले क्यान्सर अस्पतालको विकास र विस्तारमा शान्ति प्रक्रियामा आएदेखि नै आफूले योगदान पु¥याउँदै आएको बताएका छन । अस्पतालले सञ्चालन गरेका दुई वटा फार्मेसीको मंगलबार उद्घाटन गँदै उनले अस्पतालले प्रदान गर्ने सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताए । उनले देशको एक मात्र केन्द्रीयस्तरको सुविधा सम्पन्न यस अस्पतालको विकासका लागि सरकार र मित्रराष्ट्रसँग आफूले निरन्तर कुराकानी गरिरहेको जानकारी गराए । अस्पतालको आफ्नै फार्मेसीबाट बिरामीले सर्वसुलभ र गुणस्तरीय औषधि पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले सोही अनुरुप काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरे ।सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले फार्मेसी सञ्चालन प्रक्रिया र सहुलियत दरमा बिरामीले औषधि पाएको जानकारी गराए । उनले फार्मेसी अस्पताल अतिरिक्त आम्दानीका लागि नभएर बिरामीको सेवाका लागि केन्द्रित हुने बताए । अस्पतालले फार्मेसी सञ्चालन गरेसँगै बजारको बिक्री मूल्यभन्दा ३०० गुणासम्म सस्तोमा बिरामीले औषधि पाएका छन् । क्यान्सरका बिरामीलाई लगाईने महङ्गो केमोदेखि ग्यास्ट्रिक नबढोस् भनेर खाइने सामान्य औषधिसम्म निकै सस्तो मूल्यमा उपभोक्ताले पाएका छन् । अक्ज्यालो प्लाटिन नामक केमो बाहिरी बजारमा एक भायलको रु १५ हजार पर्दछ भने अस्पतालको फार्मेसीमा रु तीन हजार ३०० मा बिक्री गरिएको आचार्यले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *