इन्काउन्टर संस्कृतिको विकासले कानुनी राज्यको उपहास,फेक इन्काउन्टरको सत्यतथ्य छानबिन गर्न माग

काठमाडौँ, ९ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल हत्याको सर्वत्र बिरोध भएको छ । असार ५ गते सर्लाहीको लालबन्दी १, लखन्तीमा प्रहरीले नियन्त्रणमा लिएर नेकपा सर्लाहीका इन्चार्ज तथा लोकप्रिय सुकुमबासी नेता कुमार पौडेलको क्रुरतापूर्वक हत्या गरी दोहोरो मुठभेडको प्रचार गरेको थियो । सत्तासीन नेकपाका नेता, सांसददेखि काङ्ग्रेस नेता, पूर्वप्रधानमन्त्री, विभिन्न पार्टी र स्वतन्त्र व्यक्तित्वहरूले समेत घोर निन्दा एवम् भत्र्सना गर्दै हत्याकाण्डको न्यायिक छानबिन गर्न माग गरेका छन् । सरकारी नेकपाका सांसद एवम् पूर्वमन्त्री जनार्दन शर्माले सर्लाही घटनाले पञ्चायतकालको झझल्को दिएको बताएका छन् । आइतबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गत असार ५ गते सर्लाहीको लालबन्दीमा ‘प्रहरी र नेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको’ भन्ने सरकारी पक्षको भनाइ सही नभएको बताए । उनले भने, ‘उक्त घटनाले पञ्चायती बर्बरताको झझल्को दिएको छ ।’उनले यस विषयमा गृहमन्त्रीले समितिमा आएर स्पष्ट पार्नुपर्ने पनि बताए । उनले भने, ‘हातखुट्टा भाँचेर मारिएको भन्ने कुरा बाहिर आएको छ । तुरुन्तै गृहमन्त्रीलाई बोलाएर यथार्थ कुरा के हो,हामीलाई जानकारी गराउनुप¥यो ।’समाचारमा आएजस्तो हातखुट्टा भाँचेर मारिएको हो भने यस्तो काम राज्यले गर्न नपाउने शर्माको भनाइ थियो । संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दै उनले आपत्तिजनाएका थिए ।उनले भने, ‘निर्ममढङ्गले हातखुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ । समिति सभापति शशी श्रेष्ठले भने गृहमन्त्री रामबहादुर थापालाई सोमबार बैठकमा बोलाइने बताएकी थिइन् । सोही क्रममा संसद्को प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद तथा समिति सदस्य दिलेन्द्रप्रसाद बडुले सर्लाही घटनालगायतविषयमा छलफल गर्न प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने धारणा राखेका थिए । यसैबीच पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले कुमार पौडेलको हत्या फेक इन्काउन्टरबाट भएको बताएका छन् । उनले पौडेलको मृत्युको घटनाबारे सत्यतथ्य छानबिनको मागसमेत गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमा शनिबार सन्देश लेख्दै भट्टराईले भनेका छन, ‘हिजो पुरानो सत्ताधारीले गरेको हर्कत यो सरकारले पनि दोहो¥यायो । जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमा आज सत्तासीन बनेका हिजोका क्रान्तिकारीहरूले उही पुरानो हर्कत दोहो¥याउनु विडम्बना हो ।’
यसैगरी सत्तासीन दलका सांसद शिवकुमार मण्डलले सर्लाहीको लालबन्दीमा भएको घटनाबारे सत्यतथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमासांसद मण्डलले उक्तघटनाको सत्यतथ्यबारे गृहमन्त्रालयले सदनलाई जानकारी दिनुपर्ने बताए ।उनले भने, ‘सर्लाहीको लालबन्दी भन्ने ठाउँमा विप्लवका कार्यकर्ता भिडन्तमा मारिएको भन्ने सुनिएको छ । यतिबेला निःशस्त्र व्यक्तिहरूलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न संवेदनशील र गम्भीर बन्दै गएको छ ।’उनले विप्लव पार्टीप्रति राजनीतिक व्यवहार देखाउनुपर्ने पनि बताए । संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सांसद मीना पाण्डेले त पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी नै गरेकी थिइन् । सांसद पाण्डेले भनिन, ‘सर्लाहीको बागमती नगरपालिका–२ निवासी पौडेलको प्रहरीले समातेर हत्या गरेको भन्ने कुरा आएको छ । कुमार पौडलले के गरे र कुन पार्टीमा संलग्न थिए भन्ने कुरामा राज्यको चासो हुनु स्वाभाविक नै होला तर स्थानीयवासिन्दाले समातेर गोली हानी हत्या गरेको ठहर गरेका छन् ।’सरकारले पौडेलमाथि ‘फेक इन्काउन्टर’ गरेर गम्भीर मानवअधिकार उल्लङ्घन गरेको उनले बताइन् । सर्लाही नै घर भएकी सांसद पाण्डेले भनिन, ‘कसैलाई पहिले नियन्त्रण लिइसकेपछि फेक इन्काउन्टर गरेर हत्या गर्नु भनेको गम्भीर मानवअधिकारको उल्लङ्घन हो ।’ आइतबार राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठकले पनि ‘फेक इन्काउन्टर’ हो या होइन जानकारी दिन सोमबार गृहमन्त्रीलाई बोलाएको छ ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा इन्काउन्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने चिन्ता व्यक्त गरेका छन् । साथै उनले सरकार र मातहतका निकायलाई त्यसतर्फ सचेत बन्न सुझाव पनि दिएका छन् । अध्यक्ष शर्माले भने, ‘कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरी अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउन्टर शब्द प्रयोग गर्ने गरेको छ । यस्तो तरिकाले व्यक्ति हत्या गर्ने प्रवृत्ति बढ्दै जाँदा त्यसले कानुनी राज्यको उपहास हुने खतरा बढ्दै गएको छ ।’साथै उनले यसअघि प्रहरीले इन्काउन्टर भनेका घटनाप्रति पनि आशङ्का व्यक्त गरे । अध्यक्ष शर्माले भने, ‘इन्काउन्टर संस्कृतिको विकास भयो भने कानुनी राज्यको उपहास गर्छ ।
‘विप्लवका कार्यकर्ता मुठभेडमा मारिएको भनिएको यो पहिलो घटनाहोइन । यसअघि भोजपुरमा पनि यसैगरी विप्लवका कार्यकर्ता तीर्थ घिमिरे मारिएका थिए । एकपछि अर्को गर्दै विप्लवका कार्यकर्ता मारिन थालेपछि यो विषयले संसदमा समेत प्रवेश पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *