एकजुट भएर अघि बढे काङ्ग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दावी

काठमाडौं, ८ असार । एकजुट भएर अघि बढे काङ्ग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बताएका छन । डेनमार्कको राजधानी कोपनहेगनमा आयोजित नेपाली जनसम्पर्क समितिको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीमा गुटउपगुटका कुरा छाडेर एकजुट हुन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो । ३० देखि ३५ प्रतिशतसम्म मात्र बजेट दिएको छ । त्यसलै म यो सरकारलाई संघियता विरोधी सरकार भन्न चाहन्छु ।’ संघीयताको बाटो कांग्रेसले कोरेको उनको दाबी छ ।पाँच वर्षमा वर्तमान सरकारले कुनै चमत्कार गर्न नसक्ने भन्दै उनले तुरुन्तै निर्वाचन भएपनि कांग्रेस पहिलो पार्टी बन्ने ठोकुवा गरे । कांग्रेसलाई आफ्नै अन्तरघातले मात्र हराउने गरेको भन्दै उनले अब एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । उनले लोकतन्त्रको रक्षा गर्न सम्पूर्ण लोकतन्त्रवादीको प्रमुख दायित्व हुने बताएको कार्यक्रममा सहभागी उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । सङ्घीयतामाथि विश्वास नगर्नेबाट लोकतान्त्रिक गणतन्त्रमाथि खतरा उत्पन्न भएकाले सम्पूर्ण लोकतन्त्रवादी एक हुनुपर्नेमा उपसभापति निधिको जोड थियो । काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा, नेदरल्याण्डका संस्थापक अध्यक्ष नारायण आचार्य, संयुक्तराज्य अमेरिकाका संस्थापक अध्यक्ष विष्णु सुवेदी, पोर्चुगलका अध्यक्ष गङ्गाधर गौतम, भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले मन्तव्य राखेका थिए । यही असार ६ गतेदेखि तीन दिनसम्म चल्ने कार्यक्रममा विश्वका ३३ देशका करीब २०० जनाको सहभागिता रहेको काङ्ग्रेसले जनाएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीका नेता डा मीनेन्द्र रिजाल, डा रामशरण महत, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, भीष्मराज आङ्देम्बे, गोविन्द भट्टराई लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । त्यस्तै गोविन्द भट्टराई, रामजी दाहाल लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *