एकताका बाँकी कामलाई छिट्टै सम्पन्न गर्ने निर्णय


काठमाडौं,८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले पार्टी एकताका बाँकी कामलाई छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ । एकता एकीकरणका महत्वपूर्ण काम सम्पन्न भएपनि केही काम बाँकी छन, बाँकी कामलाई शीघ्र सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले एकताका बाँकी गृहकार्य सम्पन्न गर्दै केन्द्रीय कार्यसमितिका सदस्यहरुको कार्य्विभाजन, केन्द्रीय निकाय र विभागको गठनलगायत विषयलाई जतिसक्दो टुङ्ग्याउने निर्णय भएको छ । बैठकले एकता बाँकी काम सम्पन्न गरी समग्र पार्टी पङ्क्तिलाई केन्द्रिकृत योजनाअन्तर्गत परिचालित गर्ने निर्णयसमेत गरेको छ । बैठकले वैचारिक, राजनीतिक प्रतिवेदन शीघ्र सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालय बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको छ । राजनीतिक प्रतिवेदन सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । अघिल्ला बैठकले अध्यक्षद्वयलाई अन्तिम सम्पादनका लागि जिम्मेवारी दिएको थियो उनले भने, “अध्यक्षद्वयले सम्पादनको प्रक्रिया र विषयका बारेमा बैठक समक्ष जानकारी दिए । दुई दल एकताकै क्रममा तयार पारिएको पार्टीको विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, नीति र विचारसँग सम्बन्धित राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको क्रम चलिरहेको छ । बैठकले सरकारको काम प्रभावकारी ढंगबाट अघि बढेको ठहर गर्दै थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्रीले युरोप भ्रमणका बारेमा जानकारी गराएका थिए । त्यस्तै मुलुकका समसामयिक विषयमा समेत बैठकमा छलफल भएको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अर्का अध्यक्ष ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव पौडेल सहभागी थिए ।
सचिवालय बैठक विना निर्णय स्थगित भएको छ । राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्ने भनिए पनि बैठकमा खास एजेन्डाको बारेमा प्रवेश हुन नपाउँदै बैठक स्थगित भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *