विप्लव समूहका सर्लाही इञ्चार्जको प्रहरीले निशस्त्र अवस्थामा पक्रेर गोली हानी हत्या गरेको आरोप


काठमाडौँ, ६ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले निशस्त्र अवस्थामा पक्रेर गोली हानी हत्या गरेको आरोप लगाएको छ । नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको सो पार्टीले जनाएको छ । बिहीबार साँझ नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले विज्ञप्ति जारी गर्दै पौडेललाई सहिद घोषणा गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, सरकारले हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेड कुमार पौडेललाई बिहीबार दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ ।’विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बागमती नगरपालिका वडा नं. २ धरहरा घर भएका कमरेड कुमार पौडेललाई नेपाल कम्युनिस्ट पार्टी महान् सहिद घोषणा गर्दै उनिप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।’ब्युरो इन्चार्ज अरुणको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टीका जुझारु एवम् कर्तव्यनिष्ठ कमरेड कुमार पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हामी शोकसन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।’
यसैगरी प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । लालबन्दीबाट चार जनाको समूहमा मोटरसाइकलले जङ्गलको बाटो हुँदै नवलपुरतर्फ आउँदै गरेको पौडेल नेतृत्वको टोलीले नेपाल प्रहरीको विशेष टोलीलाई लक्षित गर्दै गोली चलाएपछि दोहोर भिडन्त भएको प्रहरीले जनाएको छ । जवाफमा प्रहरीले पनि गोली चलाउँदा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदेश नं २ को राजधानी जनकपुरबाट पौडेललाई खोज्न खटिएको नेपाल प्रहरीको विशेष टोलीसँग पौडलको दोहोरो गोली हानाहान भएको प्रहरीले दावी गरेको छ । प्रहरीले गोली चलाउन थालेपछि पौडेलको साथमा रहेको अन्य तीन जना फरार भएका छन् । घटनास्थलबाट प्रहरीले केही थान हरितयार मोटरसाइकल पनि फेला पारेको छ । उनीहरु जङ्गलको बाटो भएर भागेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी प्रयासले एक बिज्ञप्तिमार्फत बिहीबार जिल्ला सचिवालय सदस्यहरु सन्दिप, दिनेश ओली, श्याम, गणेश घर्ति र देउराम सुनारलाई प्रहरीहरुले अपहरणको शैलीमा मध्यरातमा घरघेरा हाली गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएका छन् ।जिल्ला सेक्रेटरी प्रयासले विज्ञप्तिमा भनेका छन्, सरकारले पार्टी पुनरगठन भएदेखि नै रोल्पामा अघोसित प्रतिबन्ध लगाएर निर्मम दमनमा उत्रिरहेको थियो र अहिले आएर घोषित रुपमा प्रतिबन्ध लगाउदै चर्को दमनको पराकाष्टामा पु¥याएको छ । जनताको बीचमा अहोरात्र संगठनिक काममा व्यस्त भैरहँदा दर्जनौ होनहार कमरेडहरुलाई बिना कसुर हिरासतमा राखी मानसिक यातनाको सिकार बनाइ रहेको छ ।’विज्ञप्तिमा अगाडि प्रयासले भनेका छन्, ‘यसै शिलशिलामा बिहीबारमात्र हाम्रो पार्टीका जिल्ला सचिवालय सदस्यहरु कमरेड सन्दिप, दिनेश ओली, युवा सगठनसँग आवद्ध कमरेड श्याम र गणेश घर्ति यसैगरी दलित नेता देउराम सुनार प्रहरीहरुले अपहरणको शैलीमा मध्यरातमा घरघेरा हाली गिरफ्तार गरेका छन् । गिरफ्तार सम्पूर्ण कमरेडहरुलाई छिटोभन्दा छिटो रिहा गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । हाम्रो यस मागलाई कमजोर ठानी रिहाइ नगरे पार्टी कडा संघर्षको बाटो समात्न बाध्य हुनेछ । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *