पाकेट मार्ने र ठगी गर्ने ८४ जना पक्राउ

काठमाडौं, १ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले पाकेट मार्ने र ठगी गर्ने ८४ जना पक्राउ गरेको छ ।नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो । परिसरले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको पकेट तथा झोलामा रहेको नगद, मोबाइल तथा गरगहना चोर्दाचोर्दै पक्राउ गरिएको जानकारी दिएको हो । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विभिन्न बसमा दुई जनाका दरले समूह बनाएर बसभित्र छिरेर पैसा भएको यात्रु पत्ता लगाई ठेलमठेल गरेर नगद तथा गरगहना चोर्ने गरेको अनुसन्धानमा खुल्न आएको बताए । “पाकेटमारी गर्दा साङ्केतिक भाषा प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले यसभन्दा पहिला पनि काठमाडौँका विभिन्न भागबाट १०० भन्दाबढी पाकेटमारीलाई पक्राउ गरेको थियो । प्रहरीले पाकेटमारी गर्दागर्दैै विभिन्न व्यक्तिबाट रु ६ लाखभन्दा बढी बरामद गरेकामा सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । प्रहरीले पाकेटमारीबाट २१ थान मोबाइल, दुई थान ल्यापटपसमेत बरामद गरेको छ । पहिलोपटक पाकेटमारी गर्नेलाई एक महीना जेल र बिगो बराबरको जरिवाना साथै दोस्रोपटक पाकेटमारी गर्नेलाई दुई महीना कैद, बिगोबमोजिमको जरिवाना वा दुवै सजाया हुने व्यवस्था रहेको छ ।
यसैगरी वैदेशिक रोजगारीबाट फर्किएकासँग डलर र सुन साट्ने भन्दै नक्कली नोट दिएर ठग्ने तथा लुटपाट गर्ने गिरोह काठमाडौँलगायत आसपासका क्षेत्रमा सक्रिय छन् । उनीहरु काठमाडौँको नयाँ बसपार्क, बौद्धलगायत क्षेत्रमा यसरी ठगी कार्यमा सक्रिय रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँले डलर र सुन साट्ने भनेर कसैले प्रलोभन दिएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार विगतदेखि नै यस्ता व्यक्तिहरु सक्रिय रहेकाले निगरानी बढाएर धेरैलाई पक्राउ गरिएको जानकारी दिए । आइतबार मात्रै पनि परिसरले यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको साँगाबाट डलर र सुन साट्ने भनी लुटपाट गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भई काभ्रे पाँचखाल बस्ने जीतबहादुर तामाङ र धुलिखेल बस्ने रामबहादुर तामाङ पक्राउ गरेको परिसरले जनाएको छ । यसअघि नयाँ बसपार्कबाट यसैगरी ठगी गर्दै आएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । जीतबहादुर र रामबहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार बनाई विदेशबाट फर्किएका व्यक्तिहरुलाई डलर र सुन साट्नेलगायत अन्य विदेशी रकम बढीमा साट्ने भन्दै ठगी गर्ने गरेको खुल्न आएको छ । उनीहरुले पैसाको बण्डलको अगाडि र पछाडि सक्कली नोट राखी भित्र कागज राखेर ठग्ने गरेको परिसरको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *