गर्मी बढेपछि चितवन र हेटौँडाका विद्यालय बन्द

काठमाडौं, १ असार । अत्यधिक गर्मीका कारण हेटौँडा र चितवनका विद्यालय बन्द भएका छन । अत्यधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिए । चितवनमा ३८ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको उहाँको भनाइ छ । सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको दाहालले बताईन । गर्मी बढेसँगै साना बालबालिका बिरामीसमेत पर्न थालेका छन् । यसैगरी अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ । गर्मी बढेपछि अभिभावकको अनुरोध गरेकाले असार २ गते देखि ६ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी पाँच दिन सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय भएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ । हेटौँडामा अत्यधिक गर्मी बढेपछि कतिपय विद्यालयका कयौँ विद्यार्थी बेहोससमेत भएका थिए । देशैभरको तापक्रम उकालो लागि रहेको बेला भित्रि मधेस मध्येको सबैभन्दा चिसो शहर मानिने हेटौडाको समेत तापक्रम बढेको हो । अहिले हेटौँडाको तापक्रम ४० डिग्रि सेल्सियसको हाराहारीमा पुगेको छ भने अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण चहलपहल शुन्य भएको छ भने हेटौँडाका विभिन्न स्थानमा रहेका पौडी पोखरीहरुमा भिड बडेको छ । गर्मी छल्न भारत तथा नेपालका तराई क्षेत्रबाट आएकाले समेत पौडी पोखरीहरु भरिएका छन् । कतिपय व्यक्तिहरु गर्मी छल्न स्थानीय राप्ती, कुखुरेनी तथा सामारी खोलामा समेत पौडी खेल्न पुगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *