कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्थाः सेवाग्राही मर्कामा

सुशीला रेग्मी
यहाँको एक स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । पाल्पा रामपुर नगरपालिका –१ स्थित गाडाकोट आयुर्वे्दिक औषधालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । विगत सात महिनादेखि कार्यालय सहयोगी ईश्वरी अर्यालको भरमा सो औषधालय सञ्चालन हुँदै आएको छ । कार्यालय सहयोगी अर्याललाई आफ्नो कार्यभारभन्दा पनि बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने, औषधि वितरण, प्रेसर जाँच कार्यमा भ्याइनभ्याइ हुन्छ ।कार्यालय प्रमुखदेखि सहयोगीका सबै काम उहाँ एक्लैले चलाउँदै आउनुभएको छ । सामान्य नेपाली अक्षर लेखपढ गर्न मात्र सक्ने अर्यालले सात महीनादेखि निरन्तररुपमा कविराज, वैद्यको जिम्मेवारी बहन गर्दै आएको बताउनुभयो ।“कविराज वैद्य कोही पनि नभएपछि कार्यालय प्रमुखदेखि लिएर सहयोगीसम्मका सबै कार्यभार मेरै जिम्मामा छ, कार्यालयमा मङ्सिरदेखि कोही पनि हुुनुहुन्न”, उहाँले भन्नुभयो । उहाँ बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालयमा बसेर बिरामीको स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने गर्नुहुन्छ । “बिरामीले मेरो काम होइनभन्दा पनि बुझ्दैनन्, बाध्यताले स्वास्थ्य जाँजबुझ गर्ने, औषधि दिने गरेको छु, कार्यालय पनि जङ्गलको एकान्त र बीच भागमा हुँदा एक्लै बसेर काम गर्न पनि डर छ”, उहाँले गुनासो गर्नुभयो । औषधालयका कविराज राजिवकुमार भारती सर्लाही, वैद्य सुनिलकुमार चौधरी चितवनमा २०७५ मङ्सिर १ गतेदेखि सरुवा भएर गएपछि यस क्षेत्रका नागरिकले कार्यालय सहयोगीबाटै सेवा लिन बाध्य छन् । दैनिकजसो १० देखि १५ जनासम्म बिरामी आउने गरेको उहाँको भनाइ छ । रामपुर नगरपालिका वडा नं १, २, निस्दी गाउँपालिका वडा नं १ बाकामलाङ, नवलपुरको रकुवा लगायतका नागरिकले यस औषधालयबाट सेवा लिइरहेका छन् । विसं २०५८ मा स्थापना भएको यो औषधालय नेपाल सरकारको रु ४१ लाखको लागतमा २०६६ मा सुविधा सम्पन्न आवाससहित सात कोठाको भवन निर्माण भई सञ्चालनमा आएको हो । पेट तथा प्रेसरसम्बन्धी औषधालयमा कार्यालय सहयोगीसँग स्वास्थ्य जाँच गराउनुभएका रामपुर नगरपालिका–१ का ५६ वर्षीय खिमबहादुर खाँणले कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको बताउनुहुन्छ । “डाक्टर नभएपछि कार्यालय सहयोगीसँगै जाँच गर्ने, औषधि लिने गरेर फर्कने काम भएको छ, अन्यत्र जान टाढा पर्छ, दरबन्दी छ तर डाक्टर छैनन्, यसको मार हामी गाउँका जनताले खेप्नु परेको छ”, उहाँले भन्नुभयो ।औषधालयका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष मित्रलाल कँडेलले कर्मचारी नहँुदा सेवा प्रवाहमा समस्या परिरहेकाले कर्मचारी पदपूर्तिका लागि नगरपालिकाको कार्यालय तथा सम्बन्धित निकायमा माग गरिएको बताउनुभयो ।रामपुर नगरपालिकाका वरिष्ठ कविराज निरीक्षक चेमनप्रकाश पोखरेलले कर्मचारी सामायोजनले रिक्त रहेको दरबन्दी पदपूर्ति गर्न नसकिएको बताउनुभयो । “कर्मचारी बाहिरी जिल्लाका हँुदा सकेसम्म घर पायक अन्यत्र सरुवा भएर जाने प्रवृत्तिले गर्दा कर्मचारी टिकाउन समस्या परिरहेको छ”, उहाँले भन्नुभयो ।
नगरप्रमुख रमणबहादुर थापाले विज्ञापन आह्वान भइसकेकाले अबको तीन दिनभित्रमा कर्मचारी व्यवस्थापन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । “नागरिकले गाउँकै औषधालयबाट सेवा नपाउनु दुःखद् पक्ष हो”, उहाँले भन्नुभयो । गाउँमा बसेर सेवा दिनुभन्दा पनि जागिर खाने मात्र सोचाइ रहेकाले यस्ता समस्या धेरै गाउँ ठाउँमा छन् । हुन त कर्मचारीलाई टिकाउने वातावरण पनि सम्बन्धित निकायले सिर्जना गर्न सकियो भने नागरिकले सहजरुपमा गाउँबाटै सेवा पाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *