विप्लव नेकपाका इञ्चार्जसहित १० जना नेता–कार्यकर्ता पक्राउ, विप्लवका करिव ६ सय नेता–कार्यकर्ता प्रहरी हिरासतमा

काठमाडौँ, ३१ जेठ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)सहित १० जना पक्राउ परेका छन । नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइसकेपछि नेता–कार्यकर्ता, समर्थकलाई प्रहरीले समात्ने र अदालतबाट छुट्ने क्रम निरन्तर चलिरहेको छ । हालसम्म पार्टी र बिभिन्न जवस मोर्चाका करिव ६ सय नेता तथा कार्यकर्ताहरु प्रहरी हिरासतमा छन् । नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।
यस्तै विप्लव नेकपाका नौजना कार्यकर्तालाई मध्यरातमा प्रहरीले पोखराबाट पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले राति पक्राउ गरेको हो । पक्राउ परेका नौ जनालाई नै बिहीबार उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । तर थुनामुक्त गर्न आदेश दिएता पनि फेरि पक्राउ पर्ने डरले उनीहरु अदालत परिसरभित्रको बार एसोसियनको भवनमा बसेका थिए । राति प्रहरीले बार भवनको ढोका खोलेर उनीहरुलाई पक्राउ गरेको थियो ।यसअघि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ९ जना कार्यकर्तालाई छाड्न उच्च अदालत पोखराले आदेश दिएको थियो । गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११, उरीबाट पक्राउ परेका १८ जनामध्ये ९ जनालाई राज्य विरुद्धको कसुरमा थप अनुसन्धानको लागि जिल्ला अदालतले म्याद थप गरेका थियो ।तर, गैरकानूनी तरिकाले पक्राउ गरिएको भन्दै पक्राउ पर्नेमध्येका जंगबहादुर भण्डारी (आक्रोश) को तर्फबाट पृथ्वीराज भण्डारीले गत सोमबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।रिटमाथि मंगलबार प्रारम्भिक सुनुवाई पश्चात न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलाशले बन्दिसहित जेठ ३० गते बिहीबार उपस्थित गराउन आदेश दिएको थियो । ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम बन्दिप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो ? जारी गर्नु नपर्ने कानुनसम्मत आधार र कारण भए सो समेत खुलाइ यो आदेशसहितको सूचना प्राप्त भएपछि जेठ ३० गते बिहान ११ बजेभित्र बन्दिसहित उच्च सरकारी वकिल कार्यालयमार्फत् लिखित जवाफ लिई उपस्थित हुनु,’ आदेशमा उल्लेख गरिएको थियो ।सोही आदेशअनुसार बिहिबार उच्च अदालतमा उक्त रिटमाथि तेजबहादुर कार्की र सुभाष पौडेलको ईजलाशले उनीहरुलाई छाड्न आदेश दिएको हो । बिहीबार निवेदक तर्फबाट रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोईराला, मिना रानाभाट, हिमलाल पराजुली र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र नरेन्द्र बहादुर चन्दले बहस गरेका थिए । बहसपछि आदेश जारी गर्दै अदालतले तुरुन्तै थुनामुक्त गर्न आदेश दिएको हो ।“निवेदनसाथ पेश गरेका निवेदकहरुको नाउँमा हिरासतमा राख्ने थुनुवा पुर्जीको व्योहोराबाट त्यस्तो आरोप के आधारमा लगाइएको भन्ने पाइएन र मुलुकी फौजदारी संहिता २०७४ को दफा १३ (२) को कानूनी व्यवस्था र दफा १० बमोजिमको कुरा उल्लेख गरि थुनुवा पुर्जी दिएको अवस्था पनि देखिएन । अतः निवेदकहरुलाई प्रहरी हिरासतमा राख्ने र म्याद थप गर्ने न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएको आधार र कारणबाट निज निवेदकहरुलाई यसरी प्रहरी हिरासतमा राख्ने कार्य गैरकानूनी देखिँदा जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईलाई उच्च अदालत नियमावली २०७३ को नियम ३९ (ग) बमोजिम थुनामुक्त गर्नु भनि बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ,” आदेशमा भनिएको छ ।उनीहरुलाई उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहिबार नै थुनामुक्त गर्न अदालतले आदेश दिएको हो । उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएतापनि पक्राउ पर्ने डरले उनीहरुलाई अदालत परिसर भित्रको बार एसोसियसनको भवनमा राखिएको थियो ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द कारागार चलान भएका छन् ।बाँके जिल्ला अदालतमा बुधबार भएको वहसपछि पचास हजार धरौटी तिरेर रिहा गर्न आदेश दिए पनि उक्त धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका हुन् ।
यस्तै स्वास्थ्य क्षेत्रमा देखा परेको विकृतिविरुद्ध विप्लव नेकपानिकट जनस्वास्थ्यकर्मी संघले आन्दोलन गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले नेपालको स्वास्थ्य क्षेत्रमा भएका सम्पूर्ण विकृति, विसंगती, भष्टाचार, अनियमिताको तत्काल अन्त्य गर्न माग गरेको छ ।महासंघका अध्यक्ष टिका कडेलले बुधवार विज्ञप्ति जारी गरी स्वास्थ्य क्षेत्रका विकृति नरोकिए कडा संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् । स्वास्थ्य क्षेत्रबाट व्यवस्थापन र संरचनागत बहानाबाजी देखाएर जिम्मेवारी पुरा गर्न नसक्दा हरेक दिन बचाउन सकिने अवस्थाका बिरामीहरुको पनि अकालमा मृत्यु हुने गरेको भन्दै यस्तो कार्य बन्द नभए संगठनले त्यसको बिभिन्न स्वरुपमा जवाफ माग्ने महासंघले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *