गुठीको ४ लाख ४ हजार ९ सय ९० रोपनी जमीन हडप्ने दाउ

काठमाडौँ, ३१ जेठ । नेपालमा सबै प्रकारका गरी कुल ४ लाख ४ हजार ९ सय ९० रोपनी जमीन गुठीको नाममा रहेको छ । नेपालमा राज गुठी, सार्वजनिक गुठी र निजी निजी गुठी रहेकामा ती गुठीका जमीनलाई व्यवस्थापन गर्न राष्ट्रियसभामा केही दिन पहिले गुठी विधेयक दर्ता गरिएको थियो । गुठी विधेयकको विरोधमा काठमाडौंबाट सुरू आन्दोलतले तीव्रता लिएको छ । स्थानीय गुठियारहरूको अगुवाइमा चलेको आन्दोलन क्रममा बिहीबार पाटनको मंगलबजारमा विशाल प्रदर्शन भयो । साँझ ५ बजे मंगलबजारबाट सुरू जुलुसले पाटनका विभिन्न टोल परिक्रमा गरेको थियो।यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन् ।
यसैगरी प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले गुठी विधेयकको बचाऊ र विपक्षले विरोध जनाएका छन । विशेष समयमा सत्तापक्षका सांसदले विधेयक संविधानको धारा २९० बमोजिम आएको सो विधेयकमा जमीनको मालिक गुठी संस्थान नभई जनतालाई बनाउन लागिएको बताएका थिए भने प्रतिपक्षीले सो विधेयक धर्म, परम्परा, रीतिरिवाज र संस्कारलाई अवमूल्यन गर्न ल्याएको आरोप लगाएका थिए । हाल गुठी जमीनको मालिक गुठी संस्थान र जग्गा कमाउने व्यक्ति मोहीका रुपमा रहेका छन् । गुठी जमीन खनजोत गर्दै आएका निजी गुठीका मोहीको जग्गा रैतानी गर्ने कार्य २०६५ सालदेखि रोकिएको छ । जमीन रैतानी नभएकाले नै गुठी जग्गा बैंक तथा वित्तीय संस्थानले धितो स्वीकार गर्दैनन् ।
यस्तै राष्ट्रिय मानवअधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । आयोगका निर्देशक डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न, घाइतेको स्वास्थ्य उपचार गर्न, दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याई वार्ता र संवादबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह गरिएको छ ।सरकारले सङ्घीय संसद्मा दर्ता गराएको गुठीसम्बन्धीे विधेयक खारेजीको माग गर्दै गुठीयारद्वारा गरिएको प्रदर्शनमा प्रहरीबाट यही जेठ २६ गते भएको अमानवीय व्यवहारका साथै बल प्रयोगको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको उल्लेख छ ।सांस्कृतिक अधिकार मानवअधिकारकै अभिन्न अङ्ग भएको हुँदा अधिकार कुनै पनि रूपमा कसैबाट पनि हनन गर्न नपाइने कुरामा आयोग दृढ रहेको र परम्परादेखि चलिआएको विभिन्न वर्ग तथा समूहका मानवहरुको संस्कृति लोप हुने अवस्था आउन नदिनेतर्फ संवेदनशील हुँदै यस अधिकारको संरक्षणको प्रत्याभूति गर्न आयोगले सबैलाई विशेष आग्रह गरेको छ । आफ्ना माग राख्दा र विरोधका कार्यक्रम सञ्चालन गर्दा संयमित हुनसमेत आयोगले प्रदर्शनकारीलाई आग्रह गरेको छ । सो घटनामा प्रहरीको लाठी प्रहारबाट दुई प्रदर्शनकारी घाइते भएको तथा चार पक्राउ परेको अनुगमनको क्रममा बुझिएको आयोगले जनाएको छ । प्रदर्शनकारीलाई प्रहरीले अपमानजनक व्यवहार गरेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ । नेपालको संविधान र मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २० मा उल्लेखित विना हातहतियार भेला भई शान्तिपूर्णरूपमा प्रदर्शन गर्न पाउने अधिकारको हनन भएको छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा २७ ले सांस्कृतिक अधिकारको उपभोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *