संविधान संशोधन गर्नुको विकल्प नरहेको दावी

काठमाण्डौ, ३१ जेठ । संविधान संशोधन गर्नुको विकल्प नरहेको नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन । बिहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेका यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै अब पनि संशोधन नभए बाहिरिने चेतावनी दिए । उनले संविधानमा रहेका त्रुटि, कमी कमजोरी र कतिपय उल्टापाल्टालाई पनि सच्याउन संविधान संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । अध्यक्ष यादवले संविधान संशोधन गर्ने आश्वासन दिएकाले सरकारबाट बाहिरिने काम अहिलेसम्म नभएको पनि बताए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसँग संविधान संशोधन गर्ने लिखित सहमतिपछि यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएको थियो । त्यही सहमति कार्यान्वयन गरेर अघि बढ्दा देश र जनताको हित हुने अध्यक्ष यादवको दावी छ । पार्टीका अध्यक्ष यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार अपराह्न निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन । संविधान र कानुनी प्रावधान अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको पार्टीका संघीय परिषदका अध्यक्ष डा.भट्टराईले जानकारी दिए । संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि बढाउँदै समाजवादमा पु¥याउने लक्ष्यसहित तत्कालीन यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण भइ गएको वैशाख २३ गते समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो ।समाजवादी पार्टी, नेपालले निर्वाचन चिह्न भने दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरेको छैन । त्यसलाई केही दिनमै टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने पनि पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *