सडक दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, ३१ जेठ । सर्लाही, हेटौँडा र रामेछापमा भएको बिभिन्न सडक दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिकामा बिहीबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै मोटरसाइकल चालक हुन् ।दुवै मोटरसाइकलमा चालकसहित तीन÷तीन जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए ।
यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै बिहीबार भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा मृत्यु भएको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । यस्तै स्वास्थ्यकर्मीलगायतका यात्रु चढेको बस रामेछापमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते छन् । कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो ।दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले पुष्टि गरे । उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।डीएसपी भट्टराईका अनुसार, दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरु सबैको अहिले धुलीखेलस्थित अस्पतालमा उपचार भइरहेको छ । बसमा स्वास्थ्य शिविर सञ्चालनका लागि आएका चिकित्सकको टोली चढेको बताइए पनि को–को घाइते छन् भन्ने नखुलेको डीएसपी भट्टराईले जानकारी दिए ।‘बसमा औषधिसहितको स्वास्थ्यकर्मी चढेको पाइएको छ । तर, को–को चढ्नु भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन, यसबारे हामी खोजखबर गरिरहेका छौं ’, डीएसपी भट्टराईले भने ।चिकित्सकको टोली भोलि र पर्सि हुने स्वास्थ्य शिविरमा सहभागी हुन त्यसतर्फ गएका थिए ।बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको डीएसपी भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *