शुक्रवारदेखि नेपाली टोलीको तयारी सुरु

काठमाडौ, ३१ जेठ । जुलाई २ देखि मलेसियामा सुरु हुने एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि नेपाली युवा क्रिकेट टोलीले तयारी शुरु गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको कारण नेपालको युवा टोलीले ढिलो तयारी सुरु गरेको हो । जुलाई २ देखि मलेसियामा प्रतियोगिता सुरु हुने भएपनि नेपालले भने तीन साता समय बाँकी रहँदा तयारी थालेको हो । बिहीवार कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको प्रशिक्षणमा राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछानले लेगस्पीनरहरुलाई बलिङ सिकाएका थिए । १९ वर्षका भएपनि सन्दीप हाल यू–१९ टिममा भने छैनन । राष्ट्रिय टिमबाट खेलिसकेका रोहित कुमार पौडेल, भिम शार्की, पवन सर्राफ भने यूवा टोलीमा छन । यू–१९ टिमका प्रशिक्षक विनोद दासले यू–१९ टोलीमा रहेका खेलाडी र यू–१९ को चार खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएको जानकारी दिए । दासका अनुसार शुक्रवारदेखि पूर्ण रुपमा प्रशिक्षण हुनेछ । प्रतियोगिताको लागि नेपालले खेलाडीको सूचीमा एसीसीलाई पठाएपनि अहिलेसम्म नाम अप्रुभ भएर आएको छैन । काठमाडौंमा एक साताको तयारी पछि नेपाली टोली थप तयारीका लागि भारत जानेछ । प्रशिक्षक दासले टोली बैंगलोर जाने र त्यहाँ ३ वटा अभ्यास खेल खेल्ने बताए । त्यहाँबाट नेपाली टिमको अन्तिम सूची तयार गर्ने प्रशिक्षक दासले बताए । बिहीवार टीयू मैदानमा सन्दीपले यू–१९ टिममा रहेका लेगस्पिनरहरुलाई प्रशिक्षण दिएका थिए । विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगहरुमा खेलिसकेका सन्दीपले अन्य युवा खेलाडीलाई लेगस्पिन कला सिकाएका हुन । यस्तै सन्दीपको बलिङमा प्रशिक्षक विनोद दासले ब्याटिङ समेत गरेका थिए । मलेसियामा जुलाई पहिलो साता हुने यू–१९ इस्टर्न क्रिकेटमा नेपाल समूह ए मा छ । नेपालले पहिलो खेल म्यानमारसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *