विधेयकमा आवश्यक गृहकार्य नपुगेको अध्यक्ष प्रचण्डको दावी, पार्टी एकता प्रक्रिया प्याकेजमा टुङ्गो लाग्ने

चितवन, ३० जेठ । सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले बताएका छन ।
प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताए । प्रचण्डले भने, “मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।” सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले थपे, “जति गृहकार्य भएर विधेयक आउनु पथ्र्याे, केही कमी रहेको देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।” आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने उनले बताए । सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको प्रतिक्रिया दिए । उनले भने, “मिडियामा बढ्ने नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौँ त्यहीअनुसार अघि बढ्छौँ ।” अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले यहाँ बन्न लागेको रङ्गशालामा सरकारले सहयोग गर्ने बताए । आफँैले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरी यस्ता रङ्गशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए । उनले भने, “मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसाय चाँहि चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ भनेर हो ।” रङ्गशालालाई सहयोग गर्ने सरकारको आधार तयार गरिएको उनले प्रष्ट पारे । धुर्मुस सुन्तली फाउण्डेसनले यहाँ निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थानीयले बार भत्काएपछि हाल काम रोकिएको छ । यसैगरी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने बताए ।
यसैगरी अध्यक्ष प्रचण्डले आफू एउटै मान्छे भएता पनि भूमिका चाहिँ दुईवटा रहेको बताएका छन् । अहिले आफूलाई प्रचण्डबाट ‘पुष्पकमल दाहाल’ बनाउने प्रयास भइरहेको उनले बताएका छन् । बुधबार राष्ट्रिय नाचघर जमलमा आयोजित यलम्बर सांस्कृतिक सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘मलाई प्रचण्डभन्दा म सिंगै नेपालको छोरोजस्तो लाग्छ । ‘तर, मलाई पुष्पकमल दाहाल मात्रै भन्यो भने कहीँ न कहीँ फेरि पुरानै राज्यतिर, पुरानै समाजतिर, पुरानै संस्कृतितिर, पुरानै परम्परातिर फर्काउन बल गरिएको जस्तो महसुस हुन्छ ।’प्रचण्डले पहिचानको लडाइँ अझै बाँकी रहेको र उत्पीडित जातिले अझैसम्म समान अधिकार पाइ नसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *