समाजवादी पार्टीभित्रको विवाद चरमोत्कर्षमा

काठमाडौँ, ३० जेठ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच विवाद देखिएको छ ।उपेन्द्र यादवका कारण केहि समय अगाडि मात्रै बनेको समाजवादी पार्टीमा विवाद देखिएको हो । २१ बैशाखमा उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी पार्टी र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकिकरण हुँदा सरकारबाट बाहिरीने सहमति भएको थियो ।
लामो समयदेखि सरकार छोडेमात्रै पार्टी एकिरण गर्ने सर्त राखेका भट्टराईले यादव सहमत भएपछि पार्टी एकिकरण गरेका थिए । अहिले यादवले सरकार छोड्न नमान्दा पार्टीभित्र विवाद देखिएको छ । सरकार छोडेर संविधान शंशोधन गर्न दवाव दिन सडक आन्दोलनमा होमिनु पर्ने धारणा डा. भट्टराईको छ । त्यसमा संघियसमाजवादी पार्टीका महासचिव रामसहायप्रसाद यादवलगायतले पनि साथ दिएको निकटस्थ स्रोत बताउँछ ।राजनीतिक मुद्धा सरकारमै बसेर उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा देखिएको विवादको समाधान सरकार छोडेपछि मात्रै आउने डा भट्टराई पक्षको तर्क छ । सार्वजनिक रूपमा पार्टी अध्यक्ष यादवले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेपनि अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा नदेखिएपछि विवाद भएको एक नेता बताउँछन् । डा. भट्टराईभने पार्टीले उठाएका राजनीतिक मुद्दालाई स्थापित गराउन सडक आन्दोलनमै जानु पर्ने पक्षमा दृढ देखिदै आएका छन् । एकीकरण पूर्व सरकार छाड्नुपर्ने धारणा राखेका डा. भट्टराईले संविधान संशोधनका लागि सरकारलाई निश्चित समयसहितको अल्टिमेटम दिने र त्यति समयसम्म संशोधन प्रक्रिया अघि नबढे सरकार छाड्न उचित हुने मध्यमार्गी बाटो खोज्नसम्म सकिनेमा लचक भएका छन् । तर, यादव त्यसमा समेत सहमत नभएपछि पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । पार्टीले संविधान संशोधनका लागि सरकारलाई दबाब दिन सात प्रदेशका ८ वटा सहरमा आयोजना गरेको कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा नेता कार्यकर्ताले आफ्ना माग पुरा गराउन सरकार छाड्नै पर्ने बताएका थिए । कार्यक्रममा अध्यक्षद्वय यादव र डा. भट्टराईले संविधान संशोधन नभए सरकार छाडेर सडक आन्दोलनमा जाने चेतावनी दिए । तर, यादवले संविधान संशोधनका लागि लिखित अल्टिमेटम दिन आनाकानी गरिरहेको तत्कालिन नयाँ शक्ति पार्टीका एक नेताले बताए । यो चेतावनी साँच्चै सरकार छाड्नकै लागि नभई रणनीतिक मात्रै भएको ति नेताले भने । डा. भट्टराईमा सरकार छाडेर सडक आन्दोलनमा जानुपर्छ भन्ने दृष्टिकोण छ । तर यादव सरकार छाड्ने मनस्थितिमा छैनन,’ ति नेताले भने, ‘संविधान संशोधनकै मुद्दालाई लिएर उनी सरकारबाट बाहिरिन्छन् भन्नेमा उनी निकट नेता, समर्थक र मधेसी जनतालाई समेत विश्वास छैन ।’यादवले भने आफ्नो दल सरकारमा सहभागी हुँदा दुईतिहाइ पुग्ने र त्यसले संविधान संशोधन गर्न सहज हुने भएकाले सरकारमा सहभागि भएको बताउँदै आएका छन् । तर, सरकार गठन भएको डेढ बर्षसम्म सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाएको छैन । यादवको यही तर्कलाई सरकारमा रहिरहने रणनीतिक दाउपेचका रूपमा बुझ्न कठिन छैन् । ‘संविधान संशोधन सरकारले होइन, संसद्ले गर्ने हो । सरकारले ल्याएको संशोधन प्रस्तावलाई समर्थन गरिदिए दुईतिहाइ पुगिहाल्छ । सरकारमै गएर मात्रै संविधान संशोधन हुन्छ भन्नु सत्ताभोग गर्ने अभिलाषाबाहेक केही होइन,’ तत्कालिन संघीय समाजवादी पार्टीका एक सांसदले भने । यादवसंग अरुलाई सरकारमा नपठाएर आफै सहभागि भएको भन्दै धेरै सांसद असन्तुष्ट छन् ।संविधानमा के संशोधन गर्ने हो भन्ने विषयमा पनि समाजवादी पार्टी प्रष्ट छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *