जिल्ला अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौँ, ३० जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निकट युवा संगठनका नवलपरासी जिल्ला अध्यक्ष कृष्ण गिरीसहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेकमा नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्युरो अन्तर्गत रहेको चुरे क्षेत्रका सेक्रेटरी एनआर्जन घर्ति र पार्टी सदस्य धनसिंह ठगुन्ना रहेका छन । अध्यक्ष गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको हो । गिरीलाई बर्दघाट–९ बाट आज पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा बुधबार विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका छन ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्युरो अन्तर्गत रहेको चुरे क्षेत्रका सेक्रेटरी एनआर्जन घर्ति र पार्टी सदस्य धनसिंह ठगुन्नालाई गृह प्रशासनले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।पार्टी कामको सिलसिलामा बुलिङ्टार गाउँपालिकास्थित अथरौलीबाट घर्ति र ठगुन्नालाई गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई कावासोती प्रहरी कार्यालयमा राखेको समाचार प्राप्त भएको छ । सरकारले फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएपछि देशभर धरपकड तथा गिरफ्तार तीव्र पारेको छ भने केन्द्रीय नेतादेखि सर्वसाधारण शुभचिन्तकहरुलाईसमेत हिरासतमा लिई जेलमा राखेको छ ।
यस्तै राज्य विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव समूहका चार कार्यकर्ता बुधबार रिहा भएका छन् । रिहाइ हुनेमा ताप्लेजुङ मौवा खोला गाउँपालिका वडा नं १ हाल दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय विजय दर्नाल, बुद्धशान्ति गाउँपालिका–२ का ३८ वर्षीय गणेश विश्वकर्मा, ताप्लेजुङ फत्तालुङ गाउँपालिका–२ का ३० वर्षीय विदुर शेर्पा र सोही गापाका २८ वर्षीय फुर्वा शेर्पा रहेका छन् । उनीहरुले पार्टीको कुनै पनि जिम्मेवार तहमा रहेर अराजक गतिविधि नगर्ने र बाँकी जीवन स्वतन्त्ररुपले यापन गर्ने भनी जिल्ला प्रशासन कार्यालय झापामा दिएको निवेदनका आधारमा उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार उनीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतको रोहबरमा रिहाइ गरिएको हो । रियालगत्तै उनीहरुले नेकपा (विप्लव) नेतृत्व समूह परित्याग गरेको विज्ञप्तिमार्फत घोषण गरेका छन। रिहाइ भएलगत्तै आजै उनीहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष पाठक, जिल्ला कमिटी सदस्य चन्द्रा श्रेष्ठ, असारु राजवंशी, मोहन विश्वकर्मा लगायतका नेताले अबिर र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *