विधेयकविरूद्ध प्रदर्शन

काठमाडौँ, ३० जेठ । गुठी व्यवस्थापनका नाममा ल्याउन लागेको विधेयकविरूद्ध कीर्तिपुरका स्थानीयले बुधबार साँझ विरोध प्रदर्शन गरेका छन । काठमाडौंबाट सुरू आन्दोलनले तीव्रता लिन थालेको छ । विधेयकको विरोधमा कीर्तिपुरका स्थानीयले बुधबार साँझ विरोध प्रदर्शन गरे भने बिहीबार साँझ ५ बजे पाटनको मंगलबजारमा विरोधसभा गर्ने कार्यक्रम छ । यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन । कीर्तिपुरमा बुधबार आयोजित शान्तिपूर्ण विरोध जुलुस नगाउँ दोबाटोबाट सुरु भई खासिबजार, बाघभैरव, तननि हुँदै लोकतन्त्र चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालगत्तै सहभागीहरूले प्रस्तावित गुठीसम्बन्धी विधेयक जलाएका थिए । मंगलबार असनमा आयोजित विरोध प्रदर्शनमा पनि विधेयक जलाइएको थियो । विरोध प्रदर्शनमा सहभागी सामाजिक अभियन्ता अनिश वैद्यले विधेयक जस्ताको तस्तै पारित भए नेवार समुदायको धर्म, संस्कृति, जात्रा र चाडपर्व मासिने बताए । अर्का स्थानीय तथा पत्रकार नजरराम महर्जनले यो विधेयकलाई सांस्कृतिक अतिक्रमणको संज्ञा दिएका छन ।
यसअघि आइतबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरीले चरम दमन गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको थियो । प्रहरीसँगको झडप र पानीको फोहोराबाट करिब एक दर्जन प्रदर्शनकारी घाइते भएका थिए । प्रहरी दमनको ब्यापक विरोध भएको छ । माइतीघर मण्डलमा आइतबार भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार सदनलाई जानकारी दिँदै आन्दोलनका क्रममा राज्यपक्ष र सुरक्षाकर्मीले कानुन मिचेर अभद्र व्यवहार गरेको भए कानुनी कारबाहीमा ल्याउने दावी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *